
नेपालगञ्ज । सरकारले भन्सार नाकामा कडाइ गर्दै भारतबाट आउने आँप र केराको आयात रोकेपछि बाँकेमा उत्पादन भएका आँप र केराले राम्रो बजार पाउन थालेको छ।
यसले किसान त उत्साहित छन् तर उपभोक्ता भने महँगीको मारमा परेका छन्। भारतबाट आउने आँप र केराको आयात रोकिएपछि बाँकेमा उत्पादन भएका आँप र केराको माग बढेको हाे। यससँगै किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्।
विगतमा भारतीय फलफूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहे पनि यस वर्ष सहज रूपमा बिक्री भइरहेको किसान बताउँछन्। बजारमा आँप र केराको मूल्य बढेपछि उपभोक्ताले भने महँगोमा किन्नुपरेको गुनासो गरेका छन्। किनभने अघिल्लो सिजनमा आँप प्रतिकेजी ८० आउँथ्यो अहिले १४० पर्छ ।
केरा १०० मा एक दर्जन आउँथ्यो भने अहिले ३०० पर्छ । मूल्य वृद्धि भएकाले आवश्यक परिमाणमा फलफूल किन्न कठिन भएको उपभोक्ताहरू बताउँछन् । आयात नियन्त्रणले स्वदेशी किसानलाई राहत दिएको भए पनि उपभोक्तामाथि मूल्यवृद्धिको भार परेको छ।
किसानले उचित मूल्य र उपभोक्ताले सहज मूल्य पाउने गरी बजार व्यवस्थापन गर्नु सरकारका लागि चुनौती बनेको छ।