टोकियोमा १५औँ नेपाल फेस्टिभल : संस्कृति, स्वाद र पर्यटनको भव्य प्रवर्द्धन

श्रावण ६, २०८३ |रामकृष्ण लामिछाने
टोकियोमा १५औँ नेपाल फेस्टिभल : संस्कृति, स्वाद र पर्यटनको भव्य प्रवर्द्धन

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र परम्परागत स्वादलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित जापानको टोकियोमा १५औँ नेपाल फेस्टिभल सम्पन्न भएको छ । 

त्यसक्रममा नेपाल-जापानसम्बन्ध थप सुदृढ बनाउँदै सांस्कृतिक आदानप्रदानको प्रयास भएको छ । नेपाललाई विश्व पर्यटन बजारमा थप चिनाउने र नेपाली खानालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउने लक्ष्यसहित जापानको टोकियोमा आयोजना भएको १५औँ नेपाल फेस्टिभल तीन दिनसम्म चल्यो । 

महोत्सवमा नेपाली कला, संस्कृति, पर्यटन, हस्तकला तथा परिकारको विशेष प्रदर्शनी गरियो । नेपाली म:म, दाल भात, सेलरोटीदेखि हिमाली जडीबुटी र हस्तकलासम्मका सामग्रीले जापानी तथा विदेशी आगन्तुकलाई नेपालको स्वाद र पहिचानसँग जोड्न पहल गरियो । 

नेपाल फेस्टिभल केवल सांस्कृतिक कार्यक्रम मात्रै नभइ, जापानी नागरिकमाझ नेपालको पर्यटन, नेपाली उत्पादन र नेपाली खानालाई जापानी समाजमा चिनाउने महत्वपूर्ण अवसर बन्यो । जापानकै ठूलो नेपाली सांस्कृतिक मेलामध्ये एक मानिने यस कार्यक्रमले दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि थप मजबुत बनाउने अपेक्षा गर्दै नेपालबाट समेत व्यवसायी फेस्टिभलमा उपस्थित थिए ।

जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने फेस्टिभल आयोजकले उद्देश्य राखेको हो ।


Image

रामकृष्ण लामिछाने

लामिछाने कान्तिपुर टीभीका पर्वत संवाददाता हुन् ।