
अमेरिका । संसारकै शक्तिशाली देश अमेरिकाका सडकमा दैनिक लाखौं गाडीमोटर गुड्छन् ।
व्यस्त सहरमा त सवारीको अत्यन्तै भिडभाड हुने गर्दछ । तर, पनि ठूला र व्यस्त सहरका सडकमा गाडी पार्किङदेखि पैदलयात्री तथा साना सवारीसाधनको लागि राम्रो व्यवस्था गरिएको हुन्छ ।
कस्तो छ त अमेरिकामा ट्राफिक व्यवस्थापन र नियमन ?
अमेरिकाका यी सडकमा दैनिक सयौं सवारीसाधन ओहोर दोहोर गर्दछन्। यी दृश्यहरू अलि कम व्यस्त समयको मौका पारेर खिँचिएको हो । व्यस्त समयमा यहाँ अहिलेभन्दा कयौं गुणा बढी सवारीसाधनको चहलपहल हुन्छ । तर, यी सडकमा नेपालमा जस्तो ट्राफिक प्रहरीले उभिएर सङ्केत गरेको कमै मात्र देखिन्छ ।
सडकमा जडान भएको अत्याधुनिक ट्राफिक प्रणालीले सबै काम गरिरहेको हुन्छ । चालकले नियम पालना गरे पुग्छ । न्युयोर्क, लास भेगस, लास एन्जेलसजस्ता सहरहरूमा गाडीको गतिसम्बन्धी केही नियममा फरक छन् । यहाँ पार्किङको सुविधा सडकको छेउछाउमै हुन्छ ।
धेरै ठाउँमा नि:शुल्क तथा कतिपयमा सशुल्क पार्किङ गर्न मिल्छ । पार्किङ नियम उल्लंघन गरे कस्तो सजाय हुन्छ त ? नेपालमा व्यस्त सडकमा प्रहरीले निगरानी गरिरहेको हुन्छ । सवारीचालकले गल्ती गरेको फेला पर्दा जरिवाना तिराउने गरिन्छ ।
गलत पार्किङ गरेमा टायर नै लक गरिदिने चलन छ । तर, अमेरिकामा अलि फरक छ, चालकले गल्ती गरेमा कानुनले तोकेअनुसारको जरिवाना उल्लेख गरिएको रसिद उसको ठेगानामा पठाइन्छ । सडकमा पार्किङ गरिने पनि दिन र समय तोकिदिएको हुन्छ ।
सोहीअनुसारमात्र पार्किङ गर्न मिल्छ, नत्र जरिवाना तिर्नुपर्छ । अमेरिकामा व्यस्त सहरमा सवारीको गति पनि तोकिएको हुन्छ । चालकले गतिको नियम उल्लंघन गरेको क्यामेरामा रेकर्ड भएमा वा कसैले उजुरी हालेमा तत्कालै प्रहरीले पिछा गरी कारबाही अघि बढाउँछ ।
सन १९२९ मा अमेरिकाको न्युयोर्क राज्यले देशमै पहिलोपटक ट्राफिक र सवारी कानुन पारित गरी सवारी व्यवस्थापनमा कदम चालेको इतिहास छ । अमेरिकामा अहिले चल्तीमा रहेको सङ्केतसहितको ट्राफिक सिस्टम झन्डै १३० वर्ष पुरानो हो। सडकमा ट्राफिक संकेतहरूमा गडबढी भएमा जानकारी पाएको कम्तीमा ३० मिनेटभित्र सम्बोधन गर्नुपर्ने नियम छ ।