
कञ्चनपुर । महाकाली र जगबुडा नदीले धार परिवर्तन गरेपछि मुख्य भूभागबाट अलग्गिएको कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १० स्थित कुतियाकवर बस्तीमा मनसुन सुरु भएसँगै फेरि बाढीको त्रास बढेको छ ।
हालै निर्माण गरिएको पक्की तटबन्ध नै केही दिनअघि परेको लगातार दुई दिनको वर्षापछि भत्किएसँगै स्थानीयमा यस वर्षको मनसुन कसरी बित्ला भन्ने चिन्ता बढेको हो । महाकाली र जगबुडा नदीको संगमस्थल नजिक रहेको यो बस्ती बर्षेनि बाढी र नदी कटानको उच्च जोखिममा पर्दै आएको छ ।
स्थानीयका अनुसार तटबन्ध निर्माण भएपछि यस वर्ष केही राहत मिल्ने अपेक्षा गरिए पनि मनसुनको सुरुमै संरचना भत्किएपछि जोखिम झन् बढेको छ । स्थानीय पूर्णकलीदेवी सुनार भन्छिन्, हरेक वर्ष वर्षा सुरु भएसँगै बाढीको चिन्ताले रातभर निद्रा लाग्दैन ।
नदीमा पानी बढ्ने खबर सुन्नासाथ घरपरिवार र बालबालिकाको सुरक्षाको चिन्ता थपिने गरेको उनी बताउँछिन् । उनका अनुसार तटबन्ध बलियो हुने अपेक्षा गरिए पनि सुरुमै क्षति पुगेपछि स्थानीयको भरोसा कमजोर बनेको छ ।
बाढीको जोखिमसँगै बाँचिरहेका कुतियाकवरबासीका लागि भने बस्तीमा निर्माण गरिएका दुई सुरक्षित आश्रयस्थल ठूलो आधार बनेका छन् । बाढी आउँदा मानिस मात्र होइन, अत्यावश्यक सामग्री सुरक्षित राख्न र केही समय आश्रय लिन यी संरचनाले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव बसन्ती सुनारका अनुसार समुदायले बाढी पूर्वतयारीलाई प्राथमिकता दिएको छ । जोखिम बढ्नासाथ स्थानीयलाई सुरक्षित स्थानमा सार्ने, पूर्वसूचना प्रवाह गर्ने र आवश्यक समन्वय गर्ने अभ्यास नियमित भइरहेको उहाँले बताउनुभयाे । उहाँका अनुसार सुरक्षित आश्रयस्थल निर्माण भएपछि विगतको तुलनामा जनधनको क्षति न्यूनीकरण गर्न सहज भएको छ ।
कुतियाकवर भौगोलिक रूपमा निकै संवेदनशील बस्ती हो । महाकाली र जगबुडा नदीले मूल भूभागबाट अलग्ग्याएको यस क्षेत्रमा नदीले धार परिवर्तन गर्दा बस्ती टापुजस्तै बनेको छ । वर्षायाममा नदीको बहाव बढ्दा आवतजावतदेखि दैनिक जनजीवनसम्म प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
स्थानीयले तटबन्धको क्षति तत्काल मर्मत गरी दीर्घकालीन नदी नियन्त्रणका उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूका अनुसार अस्थायी मर्मतले प्रत्येक वर्ष दोहोरिने समस्या समाधान गर्न सक्दैन ।
मनसुन अझै प्रारम्भिक चरणमै रहेकाले यस वर्ष ठूलो वर्षा भए बस्ती पुनः उच्च जोखिममा पर्न सक्ने चिन्ता स्थानीयको छ । त्यसैले सुरक्षित आश्रयस्थलले केही भरोसा दिए पनि दिगो तटबन्ध र प्रभावकारी नदी नियन्त्रणबिना कुतियाकवरबासीको बाढी त्रास अन्त्य नहुने उनीहरूको भनाइ छ ।