जरिवाना होइन, सम्झाइ-बुझाइबाट बुटवलमा ट्राफिक व्यवस्थापन

श्रावण १, २०८३ |अमृता अनमोल
जरिवाना होइन, सम्झाइ-बुझाइबाट बुटवलमा ट्राफिक व्यवस्थापन

बुटवल । सवारी दुर्घटना रोक्ने र ट्राफिक व्यवस्थापन गर्ने थुप्रै उपाय हुनसक्छन् । 

सजिलो उपायस्वरुप जरिवाना र कारबाही गर्ने चलन जताततै छ। बुटवलमा भने ट्राफिक प्रहरीले वान साइड पार्किङसहित चालकलाई सिकाउने ट्राफिक सचेतना अभियान सुरु गरेको छ।

तिव्र सहरीकरण, बढ्दो सवारी साधन र ट्राफिक अव्यवस्थापनका कारण सवारी दुर्घटना बढेपछि बुटवलमा ट्राफिक प्रहरीले वान साइड पार्किङ अभियान चलाएको छ । जसमा नो पार्किङ लेखिएको स्थानमा पार्किङ गरिएका सवारी पार्किङ गरिने स्थानमा लगिदिने र चालकलाई ट्राफिक नियम बताउने एवं सवारीका साधन चल्ने लेन बताउने गरिएको छ। 

जरिवानाले मात्र ट्राफिक व्यवस्थापन गर्न र सवारी दुर्घटना रोक्न नसकेपछि लुम्बिनी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस्तो अभियान सुरु गरेको हो। बुटवलमा पूर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्ग छन् । 

यसबाहेक ठूला ठूला बजार र व्यवसायिक क्षेत्र रहेका भित्री सडक छन् । राजमार्गभन्दा भित्री सडकमा धेरै सवारी जाम हुने ट्राफिक नियम उलंघन हुने र सवारी दुर्घटना धेरै हुने गरेका छन् । सवारी दुर्घटना कम गर्ने र सहर व्यवस्थित गर्ने हो भने सवारी चालक मात्र होइन सडक प्रयोगकर्ता सबैले ट्राफिक नियम पालना गर्नुपर्छ । 

सवारी चालकलाई कारबाही र जरीवानाको साटो ट्राफिक व्यवस्थापन सिकाउने प्रहरीको यो अभियानलाई नागरिकले पनि रुचाएका छन् । सडक सुरक्षित व्यवस्थित गर्न भन्दै बुटवलमा ट्राफिक प्रहरीले अहिले चालकलाई ठिक ठाउँमा पार्किङ गर्न सिकाउने, अव्यवस्थित पार्किङ र नो पार्किङमा सवारी पार्किङ गरिएको भए तिनलाई ठिक ठाउँमा पार्किङ गरीदिने र सवारी चालकलाई समझाएर उसको लेन सिकाउने गरेको छ । 

सहरी क्षेत्रमा बढ्दै गएको ट्राफिक अव्यवस्थापन रोक्न र सवारी दुर्घटना घटाउन बुटवलमा जस्तै अन्य सहरमा पनि ट्राफिक नियम सिकाउने यस्ता अभियान सुरु गर्ने कि ?


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।