
काठमाडौं । न्यायिक करिअरको ३२औँ वर्षमा मनोजकुमार शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको छ ।
२०२७ साल असार ४ गते वीरगन्जमा जन्मिनुभएका शर्माले काठमाडौंको नेपाल ल क्याम्पसबाट बीएल अर्थात् कानुनमा स्नातक गर्नुभएको थियो । यसपछि उहाँले भारतको पुने विश्वविद्यालयबाट व्यापार तथा संवैधानिक कानुनमा एलएलएम गर्नुभएको थियो ।
नेपाल फर्किएर उहाँले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको श्रम कानुनको सन्दर्भमा संगठन स्वतन्त्रता’ विषयमा विद्यावारिधि गर्नुभयो । उहाँ पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजसमेत हुनुहुन्छ । २०५१ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालती सुरु गर्नुभएका शर्माले यसबीच विभिन्न कम्पनी तथा संस्थालाई कानुनी परामर्श पनि प्रदान गर्नुभएको छ ।
शर्माले २०६० देखि २०६५ सम्म बीबीएस तहका विद्यार्थीलाई कानुन विषयमा अध्यापनसमेत गर्नुभएको थियो । शर्मा २०७६ साल वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । २०८० माघ २३ देखि उहाँ संवैधानिक इजलासमा सदस्य रहँदै आउनुभएको छ ।
उहाँ २०७९ पुस २२ देखि २०८१ भदौ १२ सम्म न्यायमा पहुँच आयोगको सदस्य हुँदै अध्यक्षसमेत हुनुभयो । त्यसअघि २०७७ देखि २०७९ सम्म सर्वोच्च अदालतको सूचना प्रविधि समितिका सदस्य रहनुभएको थियो ।
जेठ २०७० देखि मंसिर २०७२ सम्म उहाँ पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीश हुनुहुन्थ्यो । शर्मालाई गत वैशाख २४ गते संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । मंगलबार संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको हो ।