दुर्लभ गुराँस जोगाउन संरक्षण अभियान

असार १९, २०८३ |चन्द्र कार्की
दुर्लभ गुराँस जोगाउन संरक्षण अभियान

तेह्रथुम । तीनजुरे-मिल्के-जलजले अर्थात् टीएमजे क्षेत्रमा पाइने ३२ प्रजातिका गुराँसका रुखहरू अहिले संकटमा छन् । 

विभिन्न लहरा तथा मिचाहा वनस्पतिले गुराँसका बोट ढाक्न थालेपछि यसको वृद्धिमै असर परेको छ । जसकारण तेह्रथुमको चैते सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको सहयोगमा लहरा र मिचाहा वनस्पति हटाउने अभियान सुरु गरेको छ ।

३२ प्रजातिका गुराँस फुल्ने तीनजुरे-मिल्के-जलजले अर्थात् टीएमजे क्षेत्रमा पछिल्ला वर्षहरूमा लहरा र अन्य मिचाहा वनस्पति झाँगिएका छन् । घना गुराँसे जंगललाई मिचाहा वनस्पती र लहराले बेर्न थालेपछि वन संरक्षणमा लागेकाहरू चिन्तित बन्न थालेका छन् ।

वन प्राविधिकहरूका अनुसार लहराले गुराँसका बोट ढाक्दा पातमा पर्याप्त घाम पुग्दैन । प्रकाश संश्लेषण प्रक्रियामै असर पुग्छ । बोटको वृद्धि सुस्त हुन्छ र नयाँ पालुवा तथा फूल फुल्ने क्षमता समेत घटेर जान्छ । जसकारण कतिपय बोटहरू लहराको अतिरिक्त भारका कारण हाँगा भाँचिने र बोट नै कमजोर भएर सुक्ने अवस्थामा पुगेका छन् ।

यो अवस्थाबाट जोगाउन चैते सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा गुराँसका बोटबाट लहरा तथा मिचाहा वनस्पति हटाउने अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत गुराँसका बोटलाई ढाकेका लहरा काट्ने, मिचाहा प्रजातिका अन्य बिरुवा हटाउने काम भइरहेको छ ।

टीएमजेमा फुल्ने गुराँस केवल एउटा फूल मात्र होइन, पर्यटन, जैविक विविधता र स्थानीय पहिचानको प्रमुख आधार पनि हो । त्यसैले अब गुराँसका बोटले पर्याप्त घाम, हावा र पोषण पाउने र फूल राम्रोसँग फुल्ने, बीउ उत्पादन बढ्ने र प्राकृतिक रूपमै नयाँ बिरुवा पलाउने अपेक्षा गरिएको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा फैलिएको टीएमजे क्षेत्रको गुराँस वनलाई दीर्घकालीन रूपमै स्वस्थ राख्न स्थानीय समुदाय, वन कार्यालय र सरोकारवाला सबैको सहकार्य आवश्यक छ । त्यसो भएमा विश्वमै दुर्लभ मानिने यहाँको गुराँस सम्पदालाई भावी पुस्तासम्म सुरक्षित राखेर देखाउन सकिने संरक्षणकर्मीहरू बताउँछन् ।


Image

चन्द्र कार्की

कार्की कान्तिपुर टेलिभिजनका तेह्रथुम संवादाता हुन् ।