पूर्वदेखि पश्चिमसम्म बाँदर आतंक, खेती मात्र होइन गाउँ नै रित्तिँदै

जेष्ठ १, २०८३ |विनोद घिमिरे
पूर्वदेखि पश्चिमसम्म बाँदर आतंक, खेती मात्र होइन गाउँ नै रित्तिँदै

धनकुटा । पूर्वदेखि पश्चिमसम्मै । बाँदरको बिज्याइँले अहिले देशको मध्यपहाडको ठूलो जनसंख्यालाई नराम्ररी पिरोलिरहेको छ । 

बाँदरको उपद्रोकै कारण किसानका भकारी मात्र रित्तिएको छैन, गाउँ नै रित्तिएको छ, खण्डहर बनिरहेका छन् । बाँदरले बसाइँसराइ हुनु अब आम कुरा भइसकेको छ । बाँदर धपाउन नागरिकहरूले के केसम्म चाहिँ गरेका छैनन् ? 

जंगलमा फलफूल रोप्नेदेखि रूख काट्नेसम्म । खेतबारीमा बन्दुक पड्काउनेदेखि रात रातभर जाग्राम बस्नेसम्म । आज त बाँदर धपाउनकै लागि तेह्रथुमको लालीगुराँस नगरपालिकाले सार्वजनिक बिदा नै दियो । हो, सुन्दा हास्यास्पद लाग्नसक्छ, तर यो उत्तिकै कारूणिक विषय पनि हो । 

सामान्यतः कुनै पनि पालिकाका समस्या शिक्षा, स्वास्थ्य, रोजगार, बजेट, पूर्वाधार हुनुपर्ने हो । तर, एउटा पालिकाको यत्रो जनशक्ति, समय र ध्यान बाँदरमा हुनुले यो कति सघन समस्या हो भन्ने त पुष्टि हुन्छ नै, सँगै सरकारी मलमले नागरिकका घाउ पुरिएका छैनन् भन्ने पनि यसले देखाउँछ । 

उसो त ठूला ठूला पूर्वाधारको सपना देखिरहेको सरकारसँग बाँदर धपाउन न बजेट छ न आइडिया । हुन्थ्यो त, एकाध वर्षअघि नै यो समस्या निमिट्यान्न भइसक्थ्यो । पूर्वको पाँचथरदेखि पश्चिमको सल्यानसम्म नागरिकले भोगेको यही बाँदर वेदना समेटिएको यो रिपोर्ट ।।

आहाराको खोजीमा गाउँ पस्ने जंगली बाँदरको उपद्रोले धनकुटा भीरगाउँको किन्ताङका किसान दिक्क छन् । छथरजोरपाटीको तेलिया र चौबिसेको कुरूले र सदरमुकाम नजिकको ठोका बस्तीमा पनि बाँदरको आतंक उस्तै छ । पातलोबस्ती भएका यी ठाउामा जंगली जनावरबाट बाली जोगाउन किसानलाई बर्खाका पाँच महिना खेतबारीमै बिताउनुको विकल्प छैन । 

बाँदरकै दु:खले धरै ठाउँमा खेती नै हुन छाडेको छ । धनकुटाका केही स्थानीय तहमा हरेक वर्षको योजना तर्जूमा गर्दा बाँदर नियन्त्रण नै पहिलो एजेन्डा हुने गरेको छ । तर, त्यसले किसानको दु;ख कम भएको छैन । बाँदरमाथि खोज, अनुसन्धान गरिरहेका धनकुटाका विकास अधिकारी वशिेषगरि रातो बाँदरले कृषिबालीमा बढी क्षति पुर्‍याउने बताउनुहुन्छ । 

बाँदर अहिले आफ्नो आहाराका लागि ४५ प्रतिशत जंगल र ५५ प्रतिशत मान्छेले लगाएको खेतीबालीमा निर्भर रहेको उहाँको अनुसन्धानले देखाएको छ । ढेडु र बाँदरले बाली नष्ट गर्ने क्रम बढेपछि पाँचथरको फिदिम नगरपालिका-४ मा स्थानीयले सामूहीक गस्ती गर्न थालेका छन् । 

बाली जोगाएर बाँदर धपाउन प्रत्येक घरबाट एकजनाका दरले जम्मा भएर पहरा दिन थालिएको हो । फिदिम ४ को सालघारी, थाक्ले, थापाटार, तिरतिरे र सारन्तासँगै हेवा खोला क्षेत्रमा बाँदरको दु:ख धेरै छ । खेतबारीमा पाकेको मात्रै नभएर भर्खरै लगाइएका खेतीको टुसा, बोटबिरूवाको पालुवा र घरमा भण्डारण गरेको मकैलगायतका अन्नसमेत खान थालेपछि स्थानीयले बाँदर धपाउने रणनीति बनाएका हुन् । 

यहाँ बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा एक लाख रुपैंया बजेट विनियोजन गरेको छ । यो रकम बाँदर धपाउन पहरा दिन खट्नेको खाजामा खर्च गरिन्छ । यस्तै कुम्मायक गाउापालिका १ ले बाँदरबाट मकै बाली जोगाउन ९ जना हेरालु राखेको छ । 

उनीहरूलाई पारिश्रमिक भने डोर हाजिरा भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने गरिन्छ । बाँदर भगाउने उपकरण उपकरण वडा कार्यालयले उपलब्ध गराएको छ । अर्घाखाँची गुल्मीलगायतका पश्चिम पहाडका जिल्लामा बाँदर र बादेलको हैरानीकै कारण त्यहााका नागरिक बसाइँसराइ गर्न बाध्य छन् । 

मकै, कोदो, आलुलगायतका बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कृषि पेसाबाटै पलायन हुने क्रम तीव्र बन्दैगएको हो । वन्यजन्तुको दु;खले खेती जोगाउनै नसकेपछि रोजगारी र सुरक्षित जीवनको खोजीमा जिल्लाका ६ आठैपालिकाबाट बर्सेनि बसाइँसराइ गरी जाने संख्या अर्घाखाँचीमा वार्षिक करिब १७ सय रहेको छ ।

शीतगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव, पाणिनी र सन्धिखर्कका वन क्षेत्र नजिकका बस्तीहरूमा समस्या झन् गम्भीर देखिएको छ । यी क्षेत्रका किसानले क्षेतीपूर्तीको माग गदै आर्थिक वर्ष ७९ /८० देखि ८२ /८३ सम्ममा डिभिजन वन कार्यालय अर्घाखाँचीमा झन्डै ६ सय निवेदन दिएका छन् । 

बाँदर, बँदेलबाट बाली जोगाउन वन कार्यालयले स्थानीय तहसित समन्वय गरी गत वर्ष २० जना हेरालु राखे पनि प्रभावकारी हुन सकेन । यहि समस्यालाई अर्घाखाँचीबाट निर्वाचित सांसद हरिप्रसाद भुसालले सरकारको ध्याकर्षण गराउनुभएको छ ।

उता सल्यानमा पनि बाँदर, बँदेल र दुम्सीले बालीनालीमा क्षति पुर्‍याउनुका साथै मानिस र घरपालुवा जनावरमाथि आक्रमण गर्ने घटना बढेका छन् । बाँदर, बँदेल र दुम्सीले मकै, गहुँलगायतका बालीनालीमा ठूलो क्षति पुर्‍याइरहेका छन् । बाली जोगाउन किसानहरू रातभर बारीमै जाग्राम बस्न बाध्य छन् । 

बर्षेनि हुने क्षतिका कारण केही ठाउँमा खेती लगाउनै छाडिएको छ । डिभिजन वन कार्यालय सल्यानका अनुसार अघिल्लो आर्थिक वर्षमा बालीनाली, पशु तथा मानिसमा भएको वन्यजन्तुको क्षतिबारे राहतका लागि १ सय १४ वटा निवेदन परेका थिए । चालु आर्थिक वर्षमा १ सय २९ जनाले राहतका लागि आवेदन दिएका छन् । 

यस अवधिमा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । पाल्पाका किसान पछिल्लो १० वर्षयता बाँदरबाट पीडित छन् । वर्षभरि खाने खेती हुलका हुल आउने बाँदरले एकैछिनमा सखाप पार्दा किसान आफैंहरुले गरेको प्रयास परिणाममुखी हुनसकेको छैन । 

पाल्पाका १० वटै स्थानीय तहले हरेक वर्ष वन्यजन्तु नियन्त्रणको गर्ने नीति तथा कार्यक्रममा उल्लेख गर्छन् तर बजेट भने विनियोजन गर्दैनन् । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले भने गत वर्ष वडामा ९ जना हेरालु राखेको थियो । यसवर्ष पनि राख्ने योजना बनाएको छ । 

यस वर्ष १ सय ६० मिटर क्षेत्रमा काँडेतार लगाउने योजना छ । मान्छे सहरपसेपछि गाउँमा बाँदरले नै गाउँमा राज गरेको किसानको गुनासो छ। डिभिजन वन कार्यालयले भने मानव वन्यजन्तु द्वन्द्व कम गर्न अम्रिसो, टिमुर, तेजपातलगायतका खेतीमा जोड दिनुपर्ने सुझाव दिएको छ ।

बागलुङका किसानले त झन् बाँदरबाट बालीनाली जोगाउन खेतबारीको डिलका रूख नै काटेका छन् । बागलुङ नगरपालिका वडा नं.१२, १३ र १४ वडाका स्थानीयले बाँदरबाट जोगिन रूख काटेका हुन् । बाँदरहरु घर वरिपरि, खेतबारीमा रहेका रूखमा बस्ने र अन्नबाली नष्ट गरी मानिसलाई समेत सताउन थालेपछि स्थानीयहरू आफैंले रूख काटेका छन् ।

बागलुङको दक्षिणी क्षेत्रका अधिकांश क्षेत्रमा बाँदरकै दु:खले बर्षेनि बसाइँसराइ सर्ने क्रम बढदै गएको छ । अध्ययनअनुसार नेपालमा बाँदरको संख्या करिब पाँच लाख छ । तिनीहरूका लागि औषत दैनिक एक हजार मेट्रिक टन खाना आवश्यक पर्छ । त्यसको ५० प्रतिशतका खाना बाँदरले कृषिबालीबाट लिने गरेको अनुसन्धानले देखाएको छ । जसका कारण बाँदर र मान्छेबीचको द्वन्द्व बढ्दो छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।