
जनकपुर । मधेश प्रदेशका सत्ता साझेदार प्रमुख चार दलले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।
जसपा नेपाल संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको निवासमा आइतवार बसेको प्रमुख चार दलको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री समेत रहनु भएका कृष्णप्रसाद यादव, जसपा संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका नेता युवराज युवराज भट्टराई र लोसपा नेपालका नेता जयनुल राईनको प्रतिनिधि शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको सहभागी बैठकले सरकारले यथाशीघ्र विश्वासको मत लिने निर्णय समेत गरेको छ । यो सहमति कायमै रहे चार दलको समर्थनमा मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सहजरुपमा विश्वासको मत प्राप्त हुने छ। चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेट बनाउने बेलामा सत्ता सहयात्री जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा सरकारको भविष्यबारे अन्यौल थियो ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन चाहिन्छ । पार्टीको निर्देशनविपरीत एमालेका सरोजकुमार यादव नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राप्रपाले आफ्ना समानुपातिक प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरेको र अरू ४ जनाले राजीनामा दिएर प्रतिनिधि सभाको चुनाव लडेपछि प्रदेशसभामा पाँच जना सदस्यको स्थान रिक्त छ भने दुई जना निलम्बनमा परेका छन् । मधेश प्रदेशसभामा हाल एमालेका २४, कांग्रेसका २२, जसपा नेपालका सभामुख बाहेक १८, नेकपाका १४, जनमत पार्टीका १२, लोसपाका आठ र नागरकि उन्मुक्त पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक एक जना सदस्य छन्।