
काठमाडौं । विश्वकपको दोस्रो क्वार्टरफाइनलमा शुक्रबार राति पौने एक बजे युरोपेली च्याम्पियन स्पेनले बेल्जियमको सामना गर्नेछ ।
अमेरिकाको लस एन्जलसमा हुने यस खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यो खेल यस्ता टिमबीचको हुनेछ जहाँ स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ भने अर्को टिम बेल्जियम सधैं उपाधिनजिक पुगेर पनि चुक्ने टोलीको पहिचान बनाएको छ ।
विश्वकपमा शुक्रबार राति भिड्न लागेको टिम स्पेन बलियो कि बेल्जियम ? यी दुई टिमको विगत हेर्ने हो भने सन् १९८० को युरोपियन च्याम्पियनसिप पछि स्पेनले बेल्जियमविरुद्धका ११ भेटमध्ये ९ खेल जितेको छ । विश्वकपमा यी दुई टोलीबीच यसअघि भएका दुई भेटमा दुवैले १-१ जित बाँडेका छन् ।
सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा बेल्जियमले स्पेनलाई प्रतियोगिताबाट बाहिर पठाएको थियो, जसलाई बेल्जियम यसपटक पनि दोहोर्याउन चाहन्छ । तर, विश्वकपमा यसपटक एक गोल पनि नखाएको स्पेनले लगातार छ खेलमा 'क्लिन सिट' राख्ने कीर्तिमान बनाएको छ ।
यो करिब १० घण्टाभन्दा बढीको खेल अवधिसम्म गोल नखाएको अनुपम रेकर्ड हो । के बेल्जियमले यस्तो टिमलाई गोल गर्ने सक्ला ? विश्वकपको खेलअघि आउनुहोस् यी टिमबारे केही बुझौं ।
सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेको झन्डै १६ वर्षपछि स्पेन फेरि एकपटक विश्व च्याम्पियन बन्ने लक्ष्यबाट केवल तीन जित टाढा छ । समूह 'एच'को शीर्ष स्थानमा रहेर नकआउटमा पुगेको लुइस डे ला फुएन्टाको टोलीले अन्तिम ३२ मा अस्ट्रिया र राउन्ड अफ १६ मा पोर्चुगललाई हराउँदै गर्दै क्वार्टरफाइनलसम्म आइपुगेको हो ।
पहिलो खलमा केप भर्डेसँग बराबरी खेलेयता स्पेनको जितभन्दा उसँग खेल्ने विपक्षी उरुग्वे र पोर्चुगलको बाहिर्गमनको चर्चा धेरै भयो । पोर्चुगलविरुद्धको खेलमा मिकेल मेरिनोको अन्तिम समयको निर्णायक गोलले स्पेनलाई विश्वकप इतिहासमा छैटौं पटक क्वार्टरफाइनलमा पुर्याएको हो ।
स्पेनको मुख्य हतियार भनेको उसको बलियो रक्षापंक्ति रहेको छ । डिफेन्सलाई उसको सफलताको मुख्य आधारसमेत मानिएको छ । यता कतार विश्वकप २०२२ मा बेल्जियम समूहबाटै आउट भएको थियो । जसले बेल्जियमको गोल्डेन जेनेरेसनको अन्त्य भएको अनुमान गरिए पनि अहिले फेरिएको बेल्जियमले सानदार पुनरागमन गरेको छ ।
अहिले बेल्जियम लगातार १८ खेलसम्म अपराजित रहँदै उपाधितर्फ अग्रसर छ । जारी विश्वकपमा समूह 'जी' को शीर्ष स्थानमा रहेको बेल्जियमले अन्तिम ३२ मा सेनेगललाई ३-२ ले र प्रिक्वार्टरफाइनलमा अमेरिकालाई ४-१ को फराकिलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो ।
फ्रेन्च प्रशिक्षक रुडी गार्सियाको नेतृत्वमा रहेको बेल्जियमले प्रति खेल २ दशमवल ५ भन्दा बढीको गोल औसत कायम राखेको छ । त्यसैले प्रशिक्षक फुएन्टा लय कायम राखेको टोलीलाई निरन्तरता दिन चाहन्छन् । मिडफिल्डमा मार्को लोरेन्ट, फाबियन रुइज र मिकेल मेरिनोबीच सुरुवाती स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
चोटका कारण निको विलियम्स बेन्चमा रहने सम्भावना भए पनि युवा स्टार लामिन यामाल र अग्रपंक्तिमा मिकेल ओयार्जाबाल प्लेयर्स टू वाच रहनेछन् । ओयरजवालले त पछिल्ला १७ खेलमा २३ गोलको योगदान दिएका कारण उनको उपस्थितिले स्पेनलाई थप विशेष बनाउनेछ ।
यता बेल्जियमका कप्तान केभिन डी ब्रुयना सुरुवाती टोलीमा फर्किने अपेक्षा छ । 'फल्स नाइन'को भूमिकामा चार्ल्स डे केटेलारेले निरन्तरता पाउँदा, राष्ट्रिय टोलीका लागि ९३ गोल गरिसकेका स्टार स्ट्राइकर रोमेलु लुकाकु पुनः वैकल्पिक खेलाडीका रूपमा मैदान छिर्न सक्छन् ।
मिडफिल्डर अमाडु ओनाना र डिफेन्डर जेनो डेबास्ट चोटका कारण उपलब्ध हुने छैनन् । डिफेन्डर र गोलकिपरको परीक्षा लिने बेल्जियमको पेचिलो प्रहार र स्पेनको तोड्न नसकिने पर्खालजस्तो रक्षापंक्तिबीचको यो भिडन्त विश्वकप २०२६ को अहिलेसम्मकै रोचक खेलमध्ये एक हुन सक्छ ।