काठमाडौमा युवकद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालको आईसीयूमा उपचार हुँदै

असार २५, २०८३ |कृपाल गौतम
काठमाडौमा युवकद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा आज एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेको भन्दै आफ्नै शरीरमा आगो लगाएका मुगुका२५ वर्षीय गणेश नेपालीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार गणेशले राहदानी विभागअघि मोटरसाइकल पार्क गरेका थिए । पछि त्यसमा महानगर प्रहरीले 'व्हिल लक' गरिदियो । घिमिरेका अनुसार आफ्नो बाइकमा 'व्हिल लक' लगाएको भन्दै गणेशले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् । 'घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍यायो,' घिमिरेले भन्नुभयो । उपचारमा संलग्न चिकित्सकका अनुसार गणेशको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अहिले अवस्था निकै चिन्ताजनक छ ।

मुगुको सोरु गाउँपालिका-१ स्थायी घर भएका गणेश दुई वर्षयता काठमाडौँमा बस्दै आउनु भएको थियो । दाइ मदनका अनुसार गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने प्रयासमा हुनुहुन्थ्यो ।

गणेशको परिवार आर्थिक रूपमा विपन्न छ । सोरु-१ का अध्यक्ष धनकर्ण मल्लले भन्नुभयो, ‘गणेश केही महिनायता कामको सिलसिलामा काठमाडौँ पुगेका थिए । गाउँमा त केही गरिखाने अवस्था छैन । खेतीपातीले वर्ष दिन पनि खान नपुग्ने अवस्था छ । त्यस्तो परिवारमा यस्तो घटना सुन्नुपर्‍यो ।’ गणेशको वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । गम्भीर घाइते नेपालीको अवस्थाका बारेमा सहकर्मी कृपाल गौतमले अस्पतालमै पुगेर बुझ्ने प्रयास गर्नुभएको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।