
धनुषा । नेपाल भारत खुला सीमानाका कारण लागूऔषध सेवनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
लागूऔषधको कुलतमा फसेकै कारण पारिवारिक, सामाजिक र व्यक्तिगत जीवनमा युवाहरूले गहिरो संकट झेलिरहेका छन् । यसले समाजमा अपराध पनि बढाएको छ । हुनत यसको रोकथामका लागि सरकार र सरोकारवालाले विभिन्न कार्यक्रम गर्दै आएका छन् । तर, पनि यो प्रयासले समस्या न्यूनीकरण भन्दा पनि अझ बढ्दै गएको छ ।
भारतसँग जोडिएका मधेश प्रदेशका आठै जिल्लाको ३ सय ६५ किलोमिटर खुला सिमाना छ। भारतीय सीमावर्ती बजारमा लागूऔषध सहजै उपलब्ध हुन्छ। प्रतिबन्धित औषधि सेवन गर्ने र खरिद गरेर ल्याउने नेपाली युवाका लागि यो क्षेत्र सुरक्षित गन्तव्य बन्दै गएको छ।
यसको पुष्टि प्रहरीको तथ्यांकले पनि गरेको छ। धनुषामा मात्र तीन वर्षभित्र १ सय ७० वटा लागूऔषधसम्बन्धी मुद्दामा २ सय २० जना पक्राउ परेका छन्। लागूऔषध प्रयोगकर्ता १५ देखि २८ वर्ष उमेर समूहका युवा अधिक रहेको प्रहरीको भनाइ छ।
गृह मन्त्रालयको एक सर्वेक्षणअनुसार मधेश प्रदेशमा २० वर्षमुनिका प्रयोगकर्ता १४ दशमलव ८ प्रतिशत रहेका छन्। देशभरमा कुल प्रयोगकर्तामध्ये त्यसको आधा अर्थात् ७ दशमलव ४ प्रतिशत मात्रै २० वर्षमुनिका छन्। यो तथ्यांकले मधेशका युवामा लागूऔषधको प्रयोग बढेको स्पष्ट हुन्छ।
यसले समाजमा चोरी, डकैती, लुटपाट, अनैतिक गतिविधिलगायत आपराधिक गतिविधि बढ्नुका साथै सवारी दुर्घटनामा परि अकालमै ज्यान गुमाउने युवाहरूको संख्या पनि बढ्दै गएको छ । पारिवारिक निगरानीको अभाव, गलत संगत र नेपालमा प्रतिबन्धित औषधि सीमा नजिकका भारतीय बजारमा सहजै पाउने र नेपालमा पनि सहजै भित्र्याउने हुँदा लागूऔषधको प्रयोग बढ्दै गएको छ।
गत चैत अन्तिम साता सुरु भएको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत यसका सेवनकर्ता खोजी एवं सुधार महाअभियानको दुई महिनामा मधेशमा ४ हजार ९ सय १६ जनामा कीट परिक्षण गर्दा २ सय ६४ जना लागूऔषध प्रयोगकर्ता फेला परेका थियो ।
जसमध्ये २ सय २० जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने २३ जनामाथि मुद्दासमेत चलाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। लागूऔषधको कुलतमा फसेकै कारण पारिवारिक, सामाजिक र व्यक्तिगत जीवनमा युवाहरूले गहिरो संकट झेलरिहेका छन्।
सीमा क्षेत्रका बजारबाट भित्रिएको लागूऔषध मधेशमा मात्र नभइ देशैभर पुग्ने गरेको र यो बढ्दो क्रममा रहेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांक छ। ब्युरोका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषधसहित ४ हजार ६ सय २६ जना पक्राउ परेकामा आर्थिक वर्ष २०८१/०८२ मा यो क्रम बढेर ७ हजार ८ सय ९० जना पुगेको छ।
प्रहरी प्रशासन, प्रदेश र स्थानीय सरकार, कतिपय युवा क्लब, समूह र सामाजिक संस्थाले लागूऔषधविरुद्ध सचेतना कार्यक्रम थालेका छन् । विद्यालयमा संवाद कार्यक्रम, प्रहरी–समुदाय सहकार्यअन्तर्गत सचेतना कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्। तर, पनि यसले समस्या समाधानमा भूमिका निर्वाह गर्न सकेको छैन ।
त्यसैले लागूऔषध नियन्त्रण प्रहरीको मात्र नभइ समाज, नागरिक, तीनै तहका सरकार र सरोकारवाला निकायहरूको साझा जिम्मेवारी रहेको छ।