त्रिशूल जात्राका रूपमा चिनिने मचाती जात्रा भव्य रूपमा मनाइयो

असार २४, २०८३ |नारायण किलम्बू
त्रिशूल जात्राका रूपमा चिनिने मचाती जात्रा भव्य रूपमा मनाइयो

काठमाडौं । काठमाडौंको पशुपति जयवागेश्वरीमा भिन्न पहिचानको मचाती जात्रा मनाइएको छ । 

हरेक वर्ष असार कृष्णपक्ष अष्टमीका दिन खटमा राखिएका बालबालिकालाई कुमार र कुमारीको प्रतीकका रुपमा त्रिशूलले घोचेको प्रतिकात्मक विम्बसहित शहर परिक्रममा गरी यो जात्रा मनाउने परम्मपरा छ । 

परापूर्व कालमा रासक्षले बालबच्चालाई बध गरेपछि तान्त्रिकको सहयोगमा राक्षसलाई दिइने सजायको कथनअनुसार यो जात्रा मनाउन थालिएको हो । त्यसैले यो जात्रालाई त्रिशुल जात्राको रुपमा पनि चिनिन्छ । पपशुपतिनाथको जयवागेश्वरीस्थित सत्तल नजिक अझै पनि बालबालिका बध गर्ने राक्षसलाई त्रिशुलले घोचेर खटमा चढाइ नगर परिक्रमा गराउने चलन छ । 

यो वास्तविक घटना नभइ नेवार समुदायले मनाउने मचाति जात्राको प्रचलन हो । खटमा राखिएका तीन बालबालिकालाई प्रतीकात्मक रुपमा त्रिशूलको टुप्पोमा घोचेर उत्तानो पारी राखिएको राखिन्छ । खटमा बस्न योग्य ब्रतबन्ध नभएका बालक र राजस्वला नभएकी बालिकालाई कुमार र कुमारीको रुपमा पुजिन्छ । 

खटमा रहेको बालबालिकाको सुरक्षाको उचित व्यवस्था गरिएको हुन्छ । त्यसपछि खटलाई युवाहरुले काँधमा बोकेर पशुपति देवपटन हुँदै सहर परिक्रममा गरी जात्रा मनाउने चलन छ । यसैगरी पशुपति क्षेत्रको वत्सलेश्वरी मन्दिर र बज्रघरमा बनाइएका छुट्टाछुट्टै खटमा पनि दुई कुमारको विम्बको रूपमा बालकलाई त्रिशूलले घोचरे राखेर जय बागेश्वरी पुर्‍याइन्छ । 

यो खटमा पनि बालकको पूर्णरुपमा सुरक्षा दिएपछि मात्र जात्रा प्रारम्भ हुन्छ । खटमा चढ्न डंगोल, बैद्य, विषेद, नापित समुदायका बालबालिका मात्र योग्य हुन्छन् । पशुपतिको देवपटनबाट सुरु हुने यो जात्रा भुवनेश्वरी जयवागेश्वरी गोलनवरीटोल सिफल हुँदै फेरि देवपटनमै पुगेर समापन हुन्छ । 

परम्परा धान्न जात्रालाई निरन्तरता दिइए पनि खटमा बस्ने बालबालिकालाई भने सहज नहुने स्थानीय बताउँछन् । लिच्छविकालदेखि सुरु भएको मानिने यो जात्रा पृथक पहिचानको छ । तीनवटा खटमा बालबालिकालाई उत्तानो आसनमा राखेर मनाइने जात्रा विरलै मात्र रहेको जात्रा हो । 

तत्कालीन समयमा पशुपति देवपटन क्षेत्रमा राक्षसहरुले स्थानीयलाई धेरै दु:ख दिन्थे । त्यहाँका बालबालिकालाई राक्षसले लगेर बध गर्ने क्रम बढेपछि तान्त्रिक बन्धुदत्त आचाजूको सहयोगमा राक्षसकै बच्चा समातेर त्रिशुलमा उनेर सहर घुमाउने गरिन्थ्यो । स्थानीयले आफ्नै बच्चामाथि आक्रमण गर्न थालेपछि राक्षसले पनि बालबालिका लैजान छाडेको स्मरणमा यो जात्रा मनाउन थालिएको किवंदन्ती छ ।

पृथक पहिचान झल्कने जात्रा भएकाले उपत्यकाका विभिन्न ठाउँहरुबाट स्थानीय आउने गरेका छन् । हरेक वर्ष मनाइने यो जात्राले लोप हुन लागेको परम्परा र संसकृतिलाई निरन्तरता दिएको छ । तर, लिच्छविकालमा यो जात्रामा ९ वटा खट प्रयोग हुने भए पनि हाल तीनवटामा मात्र सीमित छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।