अक्सनपछि विराटनगर किङ्स : स्पिन बलियो, ब्याटिङमा विदेशी खेलाडीको भर

असार २६, २०८३ |सुवास रोकाया
अक्सनपछि विराटनगर किङ्स : स्पिन बलियो, ब्याटिङमा विदेशी खेलाडीको भर

काठमाडौं । गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै तालिकाको दोस्रो स्थानमा रहेर क्वालिफायर-२ सम्म पुगेको विराटनगर किङ्सको स्वदेशी स्क्वाड हेर्दा स्पिन आक्रमण बलियो देखिन्छ । तर, टिमको ब्याटिङ क्रमलाई बलियो बनाउन विदेशी खेलाडीमा भर पर्नुपर्ने अवस्था छ । 

अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको कमी पनि टिमको ड्रब्याक नै हो । तर, विपक्षी टिमले हरेक खेलमा सन्दीप लामिछानेको स्पिन आक्रमण सामना गर्नुपर्नेछ । तेस्रो सिजनका लागि अक्सनपछि कस्तो बनेको छ त विराटनगर किङ्स ?

विराटनगर किङ्सका लागि तेस्रो संस्करणको अक्सन मिश्रित रह्यो । अक्सनअघि नै केही महत्त्वपूर्ण खेलाडीलाई निरन्तरता दिएको यो टिममा अक्सनपश्चात् विशेषतः बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । कप्तानसमेत रहेका सन्दीप लामिछाने टोलीका मुख्य स्ट्राइक बलर रहनेछन् । 

अन्य स्वदेशी स्क्वाडतर्फ विकेटकिपर तथा अक्रामक ब्याटरका रूपमा लोकेश बमले आवश्यक परे ओपनिङ वा शीर्ष क्रममा ब्याटिङ गर्न सक्छन् । बसिर अहमद स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्न सक्ने अलराउन्डर हुन् । लेफ्ट आर्म मिडियम पेसर प्रतीश जीसीले टिमको फास्ट बलिङको नेतृत्व गर्नेछन् । 

उनलाई दायाँहाते मिडियम पेसर नारायण जोशीले साथ दिनेछन् । नारायण तल्लो क्रममा ब्याटिङ गर्न पनि सक्षम छन् । सुवास भण्डारीको राइट आर्म अफब्रेक पनि टिमका लागि महत्त्वपूर्ण हुनेछ । प्रतीश र नारायणको सहयोगीका रूपमा रूपेशकुमार सिंहलाई १५ लाखमा भित्र्याइएको छ । 

रूपेशले तल्लो क्रममा रन पनि जोड्न सक्छन् । स्लो लेफ्ट आर्म अर्थोडक्स नरेन राउदलाई टिमले ५ लाख रुपैयाँ खर्च गरेको छ । ब्याकअप विकेट किपरका रूपमा दिलसाद अली पनि ५ लाखमै विराटनगरमा सामेल भएका छन् । सुजन थपलियालाई ४ लाख २५ हजार रुपैयाँमा अनुबन्ध गरिएको छ । 

उनी बलिङ विकल्पका रूपमा परिस्थितिअनुसार प्रयोग गर्न सकिने खेलाडी हुन् । यस्तै अपराजित पौडेल २ लाख रुपैयाँमा टोलीमा आएका छन्, जसले स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङमार्फत स्पिन आक्रमणमा थप विविधता दिनेछन् । मिडल अर्डर ब्याटर प्रतीक श्रेष्ठका लागि टिमले २ लाख खर्च गरेको छ । 

इमरान शेख २ लाखमा टोलीमा सामेल भए । उनी ओपनिङसहित जुनसुकै क्रममा ब्याटिङ गर्न सक्छन् । टोलीमा अलराउन्डरहरू पर्याप्त भए पनि अनुभवको कमी स्पष्ट देखिन्छ । टिमको ब्याटिङ क्रम पनि कमजोर छ । लोकेशलाई मध्य क्रममा प्रयोग गर्ने हो भने विदेशी खेलाडी हस्ताक्षर गर्दा उसले दुई ओपनर अनिवार्य रूपमा टिममा सामेल गर्नुपर्ने देखिन्छ । 

जसमध्ये एक आक्रमक र एक एंकर हुनु आवश्यक छ । साथै तेस्रो नम्बरका लागि उसले विदेशी खेलाडीमा भर पर्नुपर्ने छ । प्रतीशबाहेक टिकमको फास्ट बलिङमा पनि अनुभवको कमी छ । उसलाई कम्तीमा एक आक्रमक फास्ट बलिङ अलराउन्डर आवश्यक हुनेछ । 

तिनै खेलाडीमार्फत उसले फिनिसर र डेथ ओभर स्पेसेलिस्टको आवश्यकता पूरा गर्नुपर्ने छ । एक जना स्पिन अलरान्डर भित्र्याउन सके टिम थप सन्तुलित बन्ने देखिन्छ । विराटनगरमा सन्दीप र लोकेशबाहेक अरूसँग अन्तर्राष्ट्रिय अनुभव कम छ । यो उसको ठूलो कमजोरी हो । 

बसिर र रूपेशसँग अन्तर्राष्ट्रिय अनुभव भए पनि राष्ट्रिय टिमका नियमित सदस्य होइनन् । अब विराटनगरले विदेशी खेलाडी हस्ताक्षर गर्दा र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा निकै ध्यान दिनुपर्नेछ । विदेशी खेलाडीबाट कमजोरी पार लगाउन सके सन्दीप लामिछानेको टिम उपाधिको दाबेदार बन्न पनि सक्नेछ । 


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।