मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

वैशाख २४, २०८३ |किरण पौडेल
मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सिफारिस हुनुभएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा संवैधानिक परिषद्‌को आज बसेको बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नेछ । समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको रूपमा नियुक्त गर्नेछन् । सुनुवाइका लागि केही समय लाग्नेछ ।

प्रधानन्यायाधीशमा सिफारिस शर्माले २०५२ सालमा अधिवक्ताका रूपमा करिअर सुरु गर्नुभएको थियो । शर्माले २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म बुटवल र पाटन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको रूपमा सेवा गर्नुभएको थियो । उहाँ २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भई कार्यभार सम्हाल्नुभएको हो । उहाँ प्रधानन्यायाधीश नियुक्त भए ६ वर्षे कार्यकाल पूरा गरेर २०८९ वैशाखमा अवकाश हुनुहुनेछ ।

शर्माको जन्म २०२७ असार ४ गते पर्साको वीरगन्जमा भएको थियो । उहाँले नेपाल ल क्याम्पस, काठमाडौंबाट बि.एल., भारतको पुणे विश्वविद्यालयबाट एलएलएम र त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि प्राप्त गर्नुभएको छ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।