काठमाडौं । पशुपतिनाथमा हरेक दिन हजारौँ हात प्रार्थनाका लागि उठ्छन्।
कसैले भगवानसँग सुख माग्छन्, कसैले शान्ति। तर, यही मन्दिर परिसरमा केही यस्ता स्वर पनि गुञ्जिरहेका छन्, जसले भगवानसँग वरदान होइन, जीवन जिउने अवसर मागिरहेका छन्। आँखाले संसार देख्न नसके पनि, संघर्षको बाटो छाम्दै उनीहरू भजनको लयमा आफ्नो जीविका खोजिरहेका छन्।
आराध्यदेव पशुपतिनाथ मन्दिर परिसर यहाँ हरेक दिन हजारौँ मानिस श्रद्धाभक्तिपूर्वक दर्शनका लागि आउँछन् । हिन्दु धर्मको एक प्रमुख तीर्थस्थल पशुपतिनाथमा कतिपय मानिसहरु संस्कृति र यहाँको कलाको अवलोकलन गर्न समेत आउँछन् कोही शान्ति खोज्न आउँछन् ।
यही भीडमा एउटा यस्तो समूह छ, जो हरेक दिन पशुपति मन्दिर धाउँछन् । तर, उनीहरुको उद्देश्य फरक हुन्छ । उनीहरु यहाँ धर्मकर्म भन्दा पनि जीविकोपार्जनका लागि आउँछन् । कोही सेतो लठ्ठी टेक्दै । कोही साथीको काँध समात्दै त, कोही आवाज पछ्याउँदै।
स्पिकर, मादल, झ्याली लिएर आउने उनीहरु पशुपति मन्दिर परिसरको एक कुनामा बस्छन् र सुरु गर्छन् भजन किर्तन र अनौठो गीतसंगीत । जब भजनको स्वर बढ्न थाल्छ। विस्तारै भीड पनि बढ्छ । कतिपय भजनको तालमा नाच्न थाल्छन्।
यो भजन गायन, भक्ति मात्र होइन, उनीहरूको जीविका पनि हो। भजन गाइरहेका उनीहरु दृष्टिविहीन हुन्। आँखाले देख्दैनन् तर मीठो आवाजले सबैलाई आफूतिर खिच्छन् । पशुपतिनाथ मन्दिर परिसरमा मात्रै नभएर उनीहरु काठमाडौंका विभिन्न चोक, सडक र सार्वजनिक ठाउँमा भजन–कीर्तन गाउँदै हिड्छन् ।
उनीहरुको प्रतिभा देखेर मानिसहरुले कसैले खाना दिन्छन् भने कसैलै पैसा । सामूहिक रुपमा पैसा जम्मा गरेर उनीहरु अन्तिममा भाग लगाउँछन् । कुनै दिन भागमा पाँच सय पर्छ कुनै दिन सात सय । विशेष दिनहरुमा भने कमाइ केही बढी पनि हुन्छ ।
यहि भीडमा छिन् जुम्लाकी अमृता थापा । ५ वर्षको उमेरमा संक्रमणको कारण उहाँको आँखा पाक्यो । समयमै उपचारको अभावमा दृष्टि गुम्यो । सदरमुकामदेखि १ दिन टाढा पर्ने सिजा नराकोटमा ब्रेल लिपिमा १० कक्षासम्म अध्ययन गर्नु भयो । त्यहाँ एसएलसी दिएर १ वर्षपछि २०६४ मंसिरमा जिल्ला विकास समितिको सहयोगमा ६ महिनाको छात्रावृत्तिमा थप अध्ययनका लागि काठमाडौं आउनुभयो ।
यहि अवधिमा उहाँका बारेमा विभिन्न समाचार आए । एउटा बैंकको सहयोगमा ग्रामीण विकासमा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गर्नुभयो । जागिरका लागि विभिन्न ठाउँमा आवेदन समेत दिनुभयो तर अहँ कतै पाउनुभएन । अहिले ४ वर्षदेखि उहाँ यसरी सार्वजनिक स्थानमा गीत गाउँदै आउनु भएको छ ।
९ कक्षामै पठ्ढा उहाँको विवाह भएको थियो भने उहाँको श्रीमान समेत दृष्टिविहीन हुनुहुन्छ । सुर्खेतका गोर्ख बहादुर खत्री कथा पनि उस्तै छ । उहाँ अहिले सानोठिमि क्याम्पसमा स्नातक तह अध्ययन गरिराख्नुभएको छ । यसरी गीत गाउँदै हिड्ने रहर उहाँको होइन । तर, पापी पेटको सवाल छ ।
सरकारले मासिक २१ सय भत्ता दिन्छ, तर त्यसले पुग्दैन । नपुग्ने भएपछि केही त गर्नै पर्यो । योग्यता अनुसारको जागीर नपाएपछि उहाँले सार्वजनिक स्थानमा गीत गाउन थाल्नुभयो । राज्यले दिने भत्ताभन्दा आफूहरुलाई अवसरको खाँचो भएको उहाँ बताउनु हुन्छ ।
गीत गाउँदै गरेकाहरुको यो हुलमा सबैको बेग्ला बेग्लै पीडा छ । सार्वजनिक स्थानमा गीत गाउन पनि कहाँ सजिलो छ र ? कतै गाउँदा गाउँदै उनीहरु लखेटिन्छन् । कतै नगरप्रहरीले धरपकड गरेर गाडीमा हाल्छ। आँखा त उनीहरुले नदेख्ने हुन् । तर, सरकारले पनि उनीहरुको समस्यालाई देखेको छैन ।
दृष्टि गुमाएका यी नागरिकले जीवनभर अवसर खोजिरहे । तर, राज्यको नजर अझै उनीहरूसम्म पुगेको छैन। हरदिन भजन गाउँदै हिड्ने उनीहरूलाई सधैँ सहानुभूति मात्रै दिने, कि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि दिने ?