सुकुम्वासी व्यवस्थापन गरिरहेको संस्था नै अतिक्रमित जग्गामा

वैशाख २०, २०८३ |शिखा श्रेष्ठ
सुकुम्वासी व्यवस्थापन गरिरहेको संस्था नै अतिक्रमित जग्गामा

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा अहिले विस्थापित सुकुम्वासीहरूलाई राख्न होल्डिङ सेन्टर बनाइएको छ । 

यहाँ अहिले थापाथली र गैरीगाउँबाट विस्थापित भएकामध्ये ४८ परिवारका १ सय ६३ जना छन् । उनीहरूको खानपान र सम्पूर्ण व्यवस्थापन पनि सरकारले होइन राधास्वामीले नै गरिरहेको छ । तर, विस्थापितहरूलाई व्यवस्थापन गरिरहेको संस्था आफैँ भने त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरेर बसिरहेको छ । 

राधास्वामीले त्रिविको १७.८ रोपनी जग्गा अतिक्रमण गरेको सरकारी दस्ताबेजहरूले नै खुलाएका छन् । राधास्वामी सत्संगको यही हल २०७२ सालको भूकम्पका बेला सरकारले तीन महिना सेल्टरको रूपमा प्रयोग गरेको थियो । करिब दुई सय जना अटाउने यही हल सरकारले कोभिड-१९ महामारीका बेला क्वारेन्टिन सेन्टरका रूपमा समेत सञ्चालन गर्‍यो । र, यही हल अहिले विस्थापित सुकुम्वासीलाई व्यवस्थापन गर्न प्रयोग गरिएको छ । 

तर, गत वैशाख ४ गते त्रिभुवन विश्वविद्यालयको प्रशासन महाशाखाले यही भवन बसेको जग्गा अनधिकृत रूपले प्रयोग भएको भन्दै ३५ दिनभित्र स्थान खाली गर्न सत्संगलाई पत्र काटेको छ । महेन्द्रकुमार थापाको संयोजकत्वको चार सदस्यीय त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ ले राधास्वामी सत्संगले त्रिविको जग्गा कब्जा गरेको निष्कर्ष निकालेको हो । 

त्रिविको करिब ८ सय ४३ रोपनी १० आनाभन्दा बढी जग्गा अतिक्रमण भएकामा राधास्वामीले १७.८ रोपनी ओगटेको समितिको निष्कर्ष छ । त्रिविले जग्गा खाली गर्न दिएको ३५ दिने म्याद जेठ ८ मा सकिन्छ । त्यस दिनभित्र व्यवस्थापन नभएमा यी विस्थापितलाई कहाँ राख्ने सरकारले ठोस विकल्प आजसम्म दिएको छैन । 

यता सरकारले प्रारम्भिक रूपमा १५ दिन राख्ने गरी राधास्वामी सत्संगको भवनमा होल्डिङ सेन्टर बनाएको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभएको छ । २०४० सालदेखि राधास्वामीले यो जग्गा उपभोग गर्दै आएको छ । 

जसका लागि उसले त्रिविसँग कुनै सम्झौता गरेको छैन । बरू २०४६/४७ सालतिर काठमाडौं जिल्ला प्रशासनमा राधास्वामी सत्संग व्यास नेपाल त्रिविकै जग्गाको ठेगाना राखेर दर्ता भएको संस्थाकै अधिकारीहरू बताउँछन् । राधास्वामी सत्संगका केन्द्रीय अध्यक्ष कृष्णबहादुर दाहालले पनि उक्त जग्गा भोगचलन गर्नका लागि कुनै औपचारिक सम्झौता नभएको र सो जग्गा त्रिविकै स्वामित्वमा रहेको स्वीकार गर्नुभएको छ । 

२०४६ सालको आन्दोलनपश्चात् त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका वासुदेवचन्द्र मल्लको कार्यकालमा मौखिक स्वीकृति पाएको दाहालको दाबी छ । त्रिविले पत्र काटेपछि राधास्वामी कीर्तिपुरका केही सेवादारहरू त्रिवि प्रशासन पुगेका थिए । 

उनीहरूले केन्द्रीय समितिमा छलफल गरेर फेरि आउने बताएका थिए । तर, आजसम्म उनीहरू फर्केर पुगेका छैनन् । यद्यपि केन्द्रीय समितिमा एक चरणको छलफल भने भएको दाहालले बताउनुभयो । उहाँले हाल सुकुम्वासी बस्तीबाट विस्थापितहरूको व्यवस्थापनमा लागेकोले केही ससमयपछि जग्गा लिजमा लिने प्रस्ताव लिएर त्रिवि प्रसाशन जाने तयारी रहेको बताउनुभयो ।

राधास्वामी गैरनाफामूलक र सामाजिक संस्था भएकोले त्रिविले आफुहरूलाई विशेष सहजीकरण गर्ने अपेक्षा रहेको उहाँले बताउनुभएको छ । तर, निमुखाको हकमा निर्मम बनेको राज्य पहुँचवालाको हकमा निस्तेज होला त ? व्यवस्थापनमा सहयोगी बनेको आधारमा राधास्वामीले छुट पाउला त ? यी प्रश्न सरकारलाई ।


Image

शिखा श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनकाे सुरक्षा ब्युराेमा कार्यरत छिन् ।