.png&w=1000&height=550)
काठमाडौं । भनिन्छ व्यापार अपार हुन्छ । यो सानो या ठूलो हुँदैन । तर, व्यापार सुरु गर्न लगानी चाहिन्छ ।
ठूलो लगानी भएका तथा अनुभव वा विज्ञता भएकाहरुले ठूलो व्यवसाय गर्लान् । तर, जोसँग ठूलो पुँजी छैन उनीहरुले के गर्ने ? जवाफ हो सानो पसल । अर्थात् किराना, कपडा, स्टेशनरी, तरकारी, चिया पसल या यस्तै अरु केही । तपाईंलाई थाहा छ ?
यसरी सानो लगानीमा खोलिएका पसलबाट मानिसहरुले आफ्नो घर खर्चमात्र धानेका छैनन्, देशकै अर्थतन्त्रमा योगदान पुर्याइरहेका छन् । सडकमा मानिसहरूको चहलपहल । कोही हतारमा त कोही फुर्सदमा। जुन पाइला जहाँ-जहाँ पुग्छन्, त्यहाँ-त्यहाँ पसलहरूले उनीहरूलाई स्वागत गरिरहेका हुन्छन्।
हिँड्दा-हिँड्दै कसैका पाइला चिया पसलमा रोकिन्छन्, कसैका किराना त कसैका कपडा पसलमा। हो, मानिसहरू जब यी पसलमा पुग्छन्, तब बजारमा पैसा चलायमान हुन थाल्छ र देशको भुइँ-अर्थतन्त्र सक्रिय हुन थाल्छ । ५ लाख रुपैयाँभन्दा पनि कमको लागतमा सुरु गर्न सकिने यस्ता साना खुद्रा पसलहरू वास्तवमा आम नागरिकको जीविकोपार्जन र देशको अर्थतन्त्र चलायमान बनाउने मुख्य आधार बन्दै छन् ।
हरेक बिहान काठमाडौँ बिउँझिदा नबिउँझिदै बुद्धनगरमा रहेको यो सटर खुलिसक्छ, जसका सञ्चालक हुनुहुन्छ, ईश्वर अधिकारी। विदेशको कठिन श्रमपछि जब उहाँ स्वदेश फर्किनुभयो, उहाँसँग ठूलो व्यापार थाल्ने सामर्थ्य थिएन। तर, स्वदेशमै केही गर्ने दृढ इच्छाशक्ति भने थियो।
धैरे ठूलो जोखिम नउठाई ५ लाख रुपैयाँको लागतमा एउटा किराना पसल सुरु गर्नुभयो। आज त्यही व्यवसाय उहाँको जीवनको सबैभन्दा ठूलो सहारामात्र बनेको छैन, बचत गर्ने माध्यम पनि बनिरहेको छ । सबै खर्च र पसलको भाडा कटाएर पनि महिनाको १० देखि १५ हजार रुपैयाँसम्म बचत भइरहेको छ।
उहाँलाई अहिले लागिरहेछ- विदेश जानुको साटो पहिल्यै यो व्यवसाय सुरु गरेको भए हुनेथियो । हामी ललितपुरको टीकाथली पुग्दा आफ्नो कपडा पसलमा व्यस्त हुनुहुन्थ्यो सरिता पोखरेल । दुई वर्षअघि मात्र एउटा चलिरहेको कपडा पसल किनेर व्यवसायमा हात हाल्नुभएकी पोखरेल आज आत्मनिर्भर महिला र सफल व्यवसायी बन्नुभएको छ ।
२ लाख लगानीबाट पसल सुरु गरेकोमा दैनिक करिब एक हजार रुपैयाँ खुद नाफा हुने गरेको छ। घर खर्च पनि टर्ने, त्यसमाथि कसैको अधिनमा बस्नु नपर्ने, आफ्नै समयमा काम गर्न पाइने र आफ्नै पौरखमा उभिन पाउँदा मिल्ने आत्मसम्मान नै व्यवसायको सबैभन्दा सुन्दर पक्ष भएको उहाँको अनुभव छ।
यसैगरी मन्जु सिलवालले काठमाडौंको कौसलटारमा २५ वर्षदेखि सानो घुम्ती पसल गर्दै आइराख्नुभएको छ । १५ वर्षअघि दुर्घट्ना भएपछि बैसाखीको सहारामा हिँडडुल गर्नुपर्छ, तर पसल छोड्नुभएन । उहाँलाई यो व्यवसायले दैनिक घरखर्च धान्न मज्जाले पुग्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको होलसेल एन्ड रिटेल ट्रेड सर्भे २०२३ का अनुसार देशभर ५ लाख रुपैयाँभन्दा कम लागतमा स्थापना गरिएका यस्ता पसलको संख्यामात्रै ४ लाख हाराहारीमा छ। कुल गार्हस्थ उत्पादन-जीडीपीमा यस्ता पसलको योगदान १४ दशमलब शून्य-नौ प्रतिशत छ ।
यस्ता व्यवसायहरूबाट सञ्चालकहरूले महिनामा औसत २६ हजार ३ सय ७२ रुपैयाँ आम्दानी गर्ने गरेका छन्। तथ्याङ्कलाई अझ गहिराइबाट हेर्दा, थोरै पुँजीमा चल्ने यी पसलहरूमा औसत नाफा मार्जिन १८ प्रतिशतभन्दा बढी देखिन्छ। रोजगारी सिर्जनाको क्षेत्रमा त यो क्षेत्र देशकै सबैभन्दा ठूलो इन्जिन साबित भएको छ।
हाल नेपालको थोक तथा खुद्रा व्यापार क्षेत्रमा कुल ११ लाख ३० हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा आबद्ध छन्, जसले औसतमा २ जनालाई, अर्थात् प्राय श्रीमान्-श्रीमती वा परिवारकै सदस्यहरूलाई प्रत्यक्ष रोजगारी दिएको छ। तपाईंले सोच्नुभएको छ, यस्ता साना तथा खुद्रा व्यवसायमा मानिसहरुको आकर्षण किन छ ?
यसका पछाडि केही ठोस र व्यावहारिक कारण छन्। पहिलो त, यसमा वित्तीय जोखिम एकदमै न्यून हुन्छ, जसले गर्दा थोरै सापट वा आफ्नो सानो बचतबाटै काम सुरु गर्न सकिन्छ र लगानी डुब्ने डर हुँदैन । अर्थात् तपाई १०-२० हजारदेखि ४-५ लाखको लगानीमा स्वरोजगार बन्न सक्नुहुन्छ ।
दोस्रो, यस्तो व्यवसाय सुरु गर्नका लागि धेरै पढाइ, प्राविधिक ज्ञान वा विशेष अनुभव चाहिँदैन, सामान्य हिसाब-किताब राख्न जान्ने जोकोहीले पनि यो व्यवसाय सहजै चलाउन सक्छन्। तेस्रो र सबैभन्दा आकर्षक कारण भनेको, यसले मानिसलाई 'आफ्नै मालिक' बन्ने स्वतन्त्रता दिन्छ।
अरूको कचकच सहनु नपर्ने र तत्कालै दैनिक रूपमा हातमा नगद आउने भएकाले पनि यो व्यवसाय आम नेपालीको पहिलो रोजाइ बनिरहेको छ। नेपालको कुल जनसंख्या र देशभरिका साना-ठुला खुद्रा पसलहरूको अनुपात हेर्ने हो भने, करिब प्रत्येक ४० देखि ५० जना नेपालीको भागमा एउटा खुद्रा पसल पर्छ, जसले नेपालमा यसको घनत्व र पहुँचलाई देखाउँछ। तर, पछिल्लो समय बजारमा चर्को सटर भाडा र उपभोक्ताहरूको खस्किँदो क्रयशक्ति जस्ता चुनौती थपिएका छन्।
बजारमा महँगी बढे पनि सर्वसाधारणको वास्तविक आम्दानी नबढ्दा क्रयशक्ति कमजोर भएको छ, जसका कारण बजारमा आर्थिक मन्दीको प्रत्यक्ष असर देखिएको छ। खुद्रा व्यापार सर्वेक्षण अनुसार बजारमा समग्र माग घट्दा साना पसलहरूको दैनिक व्यापारमा करिब २५ देखि ३० प्रतिशतसम्मले गिरावट आएको छ।
ग्राहकहरूले पहिले जस्तो खुलेर खर्च नगर्ने र अत्यावश्यक सामान मात्रै किन्ने गर्दा यस्ता साना व्यवसायीलाई अहिले पसलको भाडा तिर्न र दैनिक गर्जो टार्न समेत थप धौ-धौ परिरहेको छ। मुलुकमा ठूलो लगानी हुन नसकिरहेको अवस्थामा ५ लाखभन्दा कम लगानीमा सुरु गर्न सकिने यस्ता साना पसलहरू नै नेपाली अर्थतन्त्रका वास्तविक मेरुदण्ड हुन्।
यिनीहरूले देशको बेरोजगारीको दरलाई मात्र थामथुम पारेका छैनन्, लाखौँ नेपालीको भान्सा धानेका छन्, साना लगानीकर्ताका आत्मसम्मान जोगाएका छन् । राज्यले सहज ऋण उपलब्ध गराउने, दर्ता प्रक्रियालाई अझै सरल बनाउने र सुविधाहरू थपिदिने हो भने, यी साना पसलहरू भोलिका दिनमा मुलुकको अर्थतन्त्रलाई अझ बलियो बनाउने मुख्य खम्बा बन्ने निश्चित छ।