
धनुषा । सर्लाहीमा पुरातात्त्विक महत्वको देवी सतीस्थल छ । सती बिहुलाको नामले प्रख्यात रहेको यो क्षेत्रमा नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू पूजाअर्चनाका लागि आउने गरेका छन् । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने धेरै सम्भावना भए पनि सरकारी बेवास्ताले यो क्षेत्रको पूर्वाधार विकासमा कामै हुनसकेको छैन ।
सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुरमा रहेको यो सती बिहुला स्थान हो। यहाँको वातावरण नेपाली, मैथिली, बज्जीका र भोजपुरी संस्कृतिको मिश्रण देख्न पाइन्छ। सती बिहुला स्थान हिन्दु लोक परम्परामा सती प्रथा र त्यससँग सम्बन्धित देवी-देवता र धार्मिक विश्वासको प्रतीक मानिन्छ। यो सती स्थलमा विशेषगरी विवाह, उत्सव, अनुष्ठान लगायत इच्छापूर्तिका लागि पुजा दर्शन गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गरेको छ। यहाँ विशेष गरी साउन, भदौ अष्टमी, अमावस्या जस्ता पवित्र दिनमा पूजा, अर्चना र मेला आयोजन हुन्छ। प्रत्येक तीन वर्षमा हुने विशेष मासमा लगातार एक महिना भव्य मेला आयोजन हुन्छ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्वको यो स्थान मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि ५० किलोमिटर पश्चिम र सर्लाहीको सदरमुकाम मलंगवा देखि १० किलोमिटर पूर्व हुलाकी राजमार्गको छेउमा छ। सती बिहुला स्थान नेपाली र भारतीय श्रद्धालुका लागि तीर्थस्थलको रुपमा स्थापित छ। तर, यस स्थानको महिमा र आस्था अनुसार उचित विकास र संरक्षण भने हुन सकेको छैन ।
सती बिहुला र बाला लखिन्दरको गाथासँग सम्बन्धी लोककथाको अंश हो, जुन भारतीय सीमावर्ती जिल्ला र मिथिला मधेशमा निकै चर्चा हुन्छ। सती बिहुलाको कथा महिला शक्ति, साहस र पतिव्रता-परम्पराको प्रतीकको रुपमा मानिन्छ। यसलाई नाच, नाटक, लोकगीत र भजनमार्फत पनि बारम्बार दोहोर्याइन्छ।
मधेश प्रदेश सरकारले सती बिहुला र बाला लखिन्दरको लोक गाथासँग जोडिएका विषयलाई सरल रुपमा बुझाउन प्रतिकात्मक स्वरुपहरु पनि निर्माण गरिदिएको छ।