चालिस दिनमै सार्वजनिक भएको कक्षा १२ को नतिजामा देखियो सुधार

६९ दशमलव सात पाँच प्रतिशत उत्तीर्ण
पुनयोगका लागि सातदिन भित्र अनलाइन आवेदन दिन सकिने
असार ५, २०८३ |नारायण किलम्बू
चालिस दिनमै सार्वजनिक भएको कक्षा १२ को नतिजामा देखियो सुधार

काठमाडौं । चाह्यो भने के हुँदैन ? तीन महिनामा बल्ल बल्ल हुने काम चालिस दिनमै हुँदो रहेछ ।

एसईईको नतिजा ३० दिनमा सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा ४० दिनमा सार्वजनिक गरेको छ । विगत वर्षहरुमा नतिजाका लागि विद्यार्थीले तीन महिना कुर्नुपर्थ्यो । उत्तरपुस्तिका परीक्षण र संपरीक्षण केन्द्रहरु विस्तार गर्नु, विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षणका लागि विशेष समय दिनु र बोर्डका कर्माचारीहरु विदाको दिनमा खटेकाले छिटो नतिजा सार्वजनिक भएको हो । 

यस वर्ष नतिजामा आठ प्रतिशतले सुधार पनि देखिएको छ । गएको वैशाख १४ देखि २७ गतेसम्म लिएको परीक्षाको नतिजा छोटो समयमै प्रकाशित गरेसँगै यस वर्ष विद्यार्थीको उर्तिण प्रतिशत समेत बढेको छ । अघिल्लो वर्ष २०८२ सालमा वैशाख २१ देखि जेठ २ गतेसम्म लिएको परीक्षाको नतिजा ७० औं दिनमा सार्वजनिक गरिएको थियो । 

२०८१ सालमा वैशाख १४ देखि २६ गतेसम्म लिएको परीक्षाको नतिजा दुई महिना २२ औं दिनमा प्रकाशित गरेको थियो । ०८० सालमा दुई महिना २५ दिनमा र ०७९ सालमा २ महिना २२ दिनमा परीक्षाको नतिजा आएको थियो । परीक्षा बोर्डले विगत वर्षमा १२ कक्षाको परीक्षा सकेको ३ महिनाभित्र प्रकाशित गर्ने गरिएकोमा यसपालि सरकारको निर्देशन अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक र कर्माचारीको प्रयासपछि ४० औं दिनमा नतिजा प्रकाशित गर्न सफल भएको दाबी गरेको छ ।

छिटो नतिजा प्रकाशित गर्ने उदेश्यले परीक्षा बोर्डले १४ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र थप गरी ४२ वटा पुर्याएको थियो । परीक्षा बोर्डमा मात्र गर्दै आएको उत्तरपुस्तिका संपरिक्षणको काम विकेन्द्रीकरण गरी २० वटा विभिन्न ठाउँमा बाँडियो । परीक्षण र संपरिक्षणमा समेत जनशक्ति थप गरी काम गरिएको थियो । 

पहिला उत्तरपुस्तिका परीक्षण सकेपछि मात्र संपरीक्षण इन्ट्री लगायतका काम सुरु गर्ने परीक्षा बोर्डले यसपालि उत्तपुस्तिका परीक्षण संपरिक्षणसँगै प्राप्तांक इन्ट्री म्याचिङ टेवुलेसनलगायतका कामहरु गरेको थियो । त्यसमाथि विदाको समयमा समेत कर्मचारीले काम गरेकोले छोटो अवधिमै परीक्षाफल प्रकाशित गर्न सफल भएको बोर्डले बताएको छ ।

विगत वर्षको तुलनामा यसपालि विद्यार्थी उर्तीण ८ प्रतिशतले बढेको छ । नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ विद्यार्थी सहभागीमध्ये २ लाख ३१ हजार ७ सय ७० अर्थात् ६९ दशमलव ७५ प्रतिशत विद्यार्थी पास भएका छन् । २२ देखि २५ नम्बर आएका विद्यार्थीलाई पुन: उत्तरपुस्तिका परीक्षण गरी मिल्नेसम्मकाे नम्बर दिएको जनाएको छ ।

सिकाइमा शिक्षक विद्यार्थी दुवैको मेहनतकै कारण पास प्रतिशत बढेको विज्ञको बुझाइ छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।