
काठमाडौँ । पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा गठित पाँच सदस्यीय सम्पत्ति जाँचबुझ तथा छानबिन आयोगले काम सुरु गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत रहेको केशरमहलस्थित आयोगले आज कार्यालय स्थापना गरेर औपचारिक रूपमा काम सुरु गरेको हो ।
बुधबार मात्र सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधी सपना मल्ल प्रधानबाट आयोगका अध्यक्षसहित सदस्यहरूले सपथ ग्रहण गरेका थिए । आयोगका एक सदस्यले भोलि औपचारिक बैठक बसेर आयोगको कामकारबाही क्षेत्राधिकारबारे जानकारी गराउने तयारी भइरहेको कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार आयोगले सार्वजनिक पद धारण गरेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र उहाँहरूको परिवारको नाममा रहेका सम्पत्तिको जाँचबुझ तथा छानबिन गर्ने कार्यादेश रहेको बताउनुभयो ।
त्यस्तै आयोगलाई शंकास्पद लागेको सम्पत्ति देखिएका त्यस्ता व्यक्ति र तिनका परिवारलाई आयोगमै बोलाएर बयान लिन सक्नेसम्मको अधिकार रहेको कान्तिपुरलाई ती सदस्यले बताउनुभयो ।
सरकारले सर्वोच्च अदालका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीशद्वय पुरुषत्तोम पराजुली, चण्डीराज ढकाल, प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको पाँच सदस्यीय छानबिन आयोग गठन गरिएको थियो । आयोगलाई २०६३/०६३ देखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका राजनीतिक तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति जाँचबुझ तथा छानबिन गर्न अधिकार दिइएको छ ।