तीन महिनामा थप १७ लाख लाइसेन्स छाप्ने सम्झौता

वक्यौता सक्ने तयारी
वैशाख ४, २०८३ |विकास आचार्य
तीन महिनामा थप १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं । तीन महिनाभित्र थप १७ लाख प्रति लाइसेन्स छपाइ गर्ने गरी मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच सम्झौता भएको छ ।

यातायात व्यवस्था विभागको कार्यालयमा शुक्रबार भएको सम्झौताअनुसार करिब ५ वर्षदेखिका वक्यौता सवारी चालक अनुमति पत्र लाइसेन्समध्ये दोस्रो लटमा १७ लाख लाइसेन्स छपाइ गर्न सम्झौता भएको हो । 

पुरानो मितिका करिब २९ लाख वक्यौता मध्ये यसअघि १२ लाख प्रति छपाइ गर्ने सम्झौता भएको थियो । त्यसमध्ये करिब ८ लाख प्रति लाईसेन्स छपाइ भएर सम्बन्धित यातायात कार्यालयहरुमा हुलाकमार्फत गैसकेका छन् । १२ लाखमध्ये बाँकी रहेको करिब ४ लाख प्रति आगमी १२ गते भित्र छपाइ गर्ने र नयाँ सम्झौताअनुसार १३ गतेबाट थप १७ लाख छपाइ गर्ने सम्झौता भएको हो ।

शुक्रबारनै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले काभ्रेको पनौती ५ रहेको सुरक्षित मुद्रण केन्द्रको निरीक्षण गर्दै २४ घन्टाभित्र लाइसेन्स उपलब्ध गराउने बताउनु भयो । मन्त्री तिमिल्सिनाले राहदानी, चेकबुक, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात पनि मुद्रण केन्द्रबाटै छाप्ने बताउनुभयो । 

सुरक्षण मुद्रण केन्द्रले पनि ऐनले तोकेको सबै कागजात छपाइ गर्न करिब आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।