अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने अल्टिमेटम

वैशाख ४, २०८३ |कान्तिपुर टीभी संवाददाता
अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने अल्टिमेटम

काठमाडौं । झन्डै २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको सरकारी प्रतिवेदन सार्वजनिक भएको सात महिनापछि त्रिभुवन विश्वविद्यालयले अतिक्रमित जग्गा फिर्ता गर्न सूचना निकालेको छ ।

त्रिविले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा अतिक्रमण उल्लेख भएका र नभएका जग्गा खाली गरी आधिकारिक रुपमा फिर्ता गर्न आग्रह गरेको हो ।

सरकारले गठन गरेको खोजबिन समितिले त्रिविको करिब २५ सय रोपनी जग्गा अतिक्रमणमा परेको औंल्याएको छ । जग्गा फिर्ता लिई अतिक्रमणमा संलग्नलाई कारबाही गर्न समेत सिफारिस गरिएको छ । समितिले बुझाएको प्रतिवेदन गत असोजमा सार्वजनिक गरिएको थियो।

प्रतिवेदनमा त्रिवि र यस अर्न्तगतका निकायहरुको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्तिहरु केही व्यक्ति, कम्पनी, संघसंस्था वा निकायहरुले विश्वविद्यालयको ऐन, नियम तथा प्रचलित कानुन विपरीत अनधिकृत रुपमा कब्जा, भोग तथा नियन्त्रण गरिएको औंल्याइएको छ ।

उपकुलपति दीपक अर्याल अध्यक्षताको परिषद्को निर्णयअनुसार त्रिविले जग्गा सम्बन्धित प्रतिवेदन समेत वेबसाइटमा सार्वजनिक गरेको छ । अतिक्रमित जग्गा फिर्ता लिने विषयमा त्रिविले ८ बुँदे निर्णय गरेको छ। पूर्वसहसचिव महेन्द्रकुमार थापा संयोजकत्वमा गठित समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ पुस ०८१ मा प्रतिवेदन बुझाएको थियो। 

सरकारले सार्वजनिक नगरेको उक्त प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले गत २६ असोजमा सार्वजनिक गर्नुभएको थियो । प्रतिवेदनले सयौं रोपनी हिनामिना भएको औंल्याए पनि त्रिवि पदाधिकारीले जग्गा फिर्ता ल्याउन कुनै पहल गरेका थिएनन्। 

बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनपछि भने जग्गा फिर्ताको प्रयास थालिएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.