भूकम्पमा क्षति पुगेको मकवानपुरको चेपाङ सङ्ग्रहालय पुनर्निर्माण

वैशाख ४, २०८३ |बालकृष्ण अधिकारी
भूकम्पमा क्षति पुगेको मकवानपुरको चेपाङ सङ्ग्रहालय पुनर्निर्माण

हेटाैंडा । २०७२ सालको भूकम्पमा क्षति पुगेको मकवानपुरको चेपाङ सङ्ग्रहालय पुनर्निर्माण भएको छ । 

भूकम्पले भत्किएको १३ वर्षपछि बागमती प्रदेश सरकारले ३ करोड ६९ लाख रुपैयाँ लगानी गरी तीन तले संग्रहालय भवन निर्माण गरेको हो । चेपाङ समुदायको भाषा, भेषभूषा र सामाजिक सांस्कृतिक जीवनसँगै प्रथा परम्पराहरू अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि २०६० सालमा राक्सीराङ गाउँपालिकाले चेपाङ सङ्ग्रहालय निर्माण गर्‍यो । 

वडानम्बर-५ चैनपुरमा निर्माण गरिएको संग्राहलय २०७२ सालको भूकम्पले क्षति पुर्‍यायो । चेपाङ समुदायको ऐतिहासिक धरोहरलाई सुरक्षित राख्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित यो संग्राहलय निर्माण गरिएको हो । संग्रहालयभित्र चेपाङ समुदायको जनजीवन झल्किने सामग्रीहरु राख्ने तयारी भइरहेको छ ।

संग्राहलयभित्र गिट्ठा, भ्याकुरजस्ता परिकार खान तथा खरिद गर्न सक्ने व्यवस्था मिलाउने योजना छ । संग्रहालयको तल्लो तलामा चेपाङ समुदायले परम्परादेखि प्रयोग गर्दै आएका तर हाल लोपोन्मुख सामग्रीहरू राखिनेछन् । एकपाखे ढ्यांग्रो, चिउरीको रस निकाल्ने ठिउरी, धनुषकाण, लगौँटी, ढाकर, गुलेली र मट्याङ्ग्रा, चिउरीको घ्यू राख्ने ठेकी, भोर्लाको जाबी लगायत ६५ प्रकारका सामग्री राखिनेछ । 

२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ भने मकवानपुरमा मात्रै १९ हजार २ सय ३३ जना चेपाङ बसोबास गर्छन् ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।