रुपन्देही । नेपालीहरूले नयाँ वर्ष २०८३ लाई स्वागत गरिरहँदा थाइल्यान्डका भिक्षु भिक्षुणी र नागरिकले थाई परम्पराअनुसार लुम्बिनीमा नयाँ वर्षको चाड सोङ्क्रान मनाएका छन्।
बितेको वर्षमा भएका दुःखपीडा बिर्सेने, उत्साह उमङ्ग साटासाट गर्ने उत्सवका रूपमा थाइल्यान्डमा यो पर्व मनाइन्छ। लुम्बिनीस्थित राजकीय थाई बिहारमा भिक्षु भिक्षुणी, गुरुमा र आनीहरूले सोङ्क्रान मनाएका छन्।
थाइ पर्व सोङ्क्रानको अवसरमा लुम्बिनीको शान्तिदीप नजिक रहेको बेबी बुद्धलाई धार्मिक विधिपूर्वक नुहाइदिएर पवित्र बनाइ पूजाआजा गरियो। डेढ मिटर लामो पित्तलको पाइपबाट पानी झारेर बेबी बुद्धको पाउ भिक्षु भिक्षुणीहरूले धोएर पवित्र बनाए। सबै प्राणीको सुख-शान्ति र कल्याणका लागि परित्राण पाठ गरियो।
थाइल्यान्डमा राष्ट्रिय रूपमै ३ देखि ७ दिनसम्म नयाँ वर्ष मनाइन्छ। स्वदेशको झल्को मेटाउन लुम्बिनीमा भिक्षु भिक्षुणीले कार्यक्रम गरेका हुन्। सोङक्रान उत्सवको सबैभन्दा प्रसिद्ध पक्ष पानी छ्यापाछ्याप गर्दै शरीर र मनको विकार हटाउँदै आपसी सद्भाव र मैत्री साटनु हो।
रंग नराखेको पानीमा सुगन्ध र फूल राखेर छयापेर उत्सवमा रमाउने गरिन्छ। नेपाल र थाइल्यान्डको नयाँ वर्षलाई एकसाथ उत्सवका रूपमा मनाउँदा दुवै मुलुक सांस्कृतिक रूपले पनि नजिक रहेको आभाष हुन्छ। यसले आपसी मित्रता र सद्भाव अझ कसिलो बन्दै दुवै देशले शान्तिका लागि मिलेर काम गर्नुपर्ने अवसरका रूपमा भिक्षुहरू बताउँछन्।
उत्सवमा लुम्बिनीस्थित चीन, म्यानमार, श्रीलंका, कम्बोडिया, भारत, जर्मन र भियतनामलगायत मुलुकका भिक्षु भिक्षुणी सहभागी भए। पहिले हिन्दु चार्ड मानिने सोङक्रान कालक्रममा बौद्धमार्गीहरूको उत्सवमा परिणत भएको जानकाहरू बताउँछन्। सोङक्रानलाई युनेस्कोले नेतृत्वदायी विश्वव्यापी महोत्सवको मन्यता दिएको छ।
युनेस्को-सूचीबद्ध सांस्कृतिक सम्पदाको रूपमा, सन् २०२६ को उत्सवलाई विश्वव्यापी महासोङक्रान कार्यक्रमको रूपमा ब्रान्डसमेत गरेको छ।