
काठमाडौं । संघीय संसदका समितिहरुमा नेतृत्व चयन भएको छ ।
मिनी संसद्का रुपमा चिनिने १२ वटा संसदीय समितिहरुमध्ये १० वटामा निर्विरोध र २ मा निर्वाचनबाट सभापति चयन भएको हो । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा एमालेका गुरु बराल र रास्वपाकी ओजश्वी शेरचनको सभापतिमा उम्मेदवारी परेको थियो ।
रास्वपाकी शेरचन बहुमतले विजय हुनुभयो । त्यसैगरी राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङकन समितिमा नेकपा र रास्वपाको उम्मेदवारी परेको थियो । यो समितिमा रास्वपाका गणेश कार्की विजयी हुनुभएको छ ।
बाँकी दशवटा समिति सभापति निर्विरोध निर्वाचित भएका छन् । सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका भरत खड्काले नेतृत्व गर्नुहुनेछ । यता राज्यका महत्वपूर्ण निकाय हेर्ने राज्यव्यवस्था समितिमा हरि ढकाल निर्विरोध हुनुभएको छ ।
उहाँले विगतका अभ्यासलाई सुधार गरेर दल भन्दामाथि उठेर समितिमा प्रभावकारी ढंगले काम गर्ने बताउनुभएको छ । यसैगरी रास्वपाबाट कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी सभापति बन्नुभएको छ ।
त्यस्तै संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ निर्विरोध हुनुभएको छ । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारी सभापति निर्वाचित हुनुभयो ।
अब कानुन निर्माण, समितिको क्षेत्रधिकारको काम र सार्वजनिक चासोका विषयमा छलफल गरी सरकार तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने मुख्य काम समितिको हुनेछ । अघिल्ला समितिहरुले प्रभावकारी ढंगले काम नगरेको आरोप लाग्दै आएकोमा यसपटक त्यो आरोपबाट समिति मुक्त हुनु पर्नेछ ।
दलीय छाँयामा समिति रहँदा कानुन निर्माणमा ढिलाइ हुने सार्वजनिक चासोका विषयमा राज्यका निकायलाई निर्देशन गर्दा नमान्ने लगायतका काम हुँदै आएको थियो । यसपटक समितिले एकातिर दलभन्दामाथि उठेर काम गर्नुपर्नेछ भने अर्कोतिर सरकारलाई जवाफदेही बनाउनुपर्नेछ ।