.png&w=1000&height=550)
सल्यान । सल्यानको वनगाड क्षेत्रमा प्रख्यात मानिने सेरिङ्गे अर्थात् मयूर नाच अहिले संकटमा परेको छ ।
तर, यही संस्कृति जोगाउन विद्यालय तहबाटै प्रयास सुरू गरिएको छ । संस्कृति जोगाउने उद्देश्यले वनगाड कुपिण्डे नगरपालिका-५ स्थित त्रिभुवन जनता माविले संरक्षण अभियान थालेको हो ।
कक्षा ६ मा पढने ११ वर्षका आशिष रसाइली मयूर नाचमा नाचेर खुब रमारहेका छन् । नाच्ने टोलीका सबैभन्दा कान्छा सदस्य भएकाले पनि उनले सबैको ध्यान केन्द्रित गराएका छन् । उनीसँगै नाच्ने कक्षा ११ का छात्र पुष्पराज साहु पनि मयूर नाचका अगुवा हुन् ।
अहिले उनको अगुवाइमा सबै ठाउँमा नाच देखाउन लगिन्छ । मयूर नाच केवल मनोरञ्जन मात्र नभइ वनगाड क्षेत्रको पहिचान र सांस्कृतिक विरासत पनि हो । रंगीन पोशाक, मौलिक भाका र मयूरको शैलीमा प्रस्तुत गरिने मयूर नाचले सबैको ध्यान केन्द्रित गर्ने गरेको छ ।
कुनै समय गाउँका चाडपर्व, मेलापात र विशेष अवसरमा मयूर नाच अनिवार्यजस्तै हुन्थ्यो । गाउँभरी बाजागाजासहित मयूर नाच प्रस्तुत गरिन्थ्यो । तर, समयसँगै आधुनिक संस्कृति हाबी बन्दै जाादा यो मौलिक कला ओझेलमा पर्न थालेको छ । अहिले मयूर नाच जोगाउन यस क्षेत्रका विद्यालय मात्र नभइ विद्यार्थी पनि सक्रिय भएका छन् ।
पहिले छात्र मात्रै सहभागी हुने मयूर नाचमा अहिले छात्राहरूको पनि सक्रिय सहभागिता देखिएको छ । साना बालबालिकालाई समेत समेटेर विद्यालयले संस्कृतिप्रतिको अपनत्व बढाउने प्रयास गरिरहेको छ । कुनै समय वनगाड क्षेत्रमा लोकप्रिय मानिने मयूर नाच अहिले बिरलै देख्न पाइन्छ ।
पुस्तान्तरणसँगै पुराना संस्कृतिप्रति युवापुस्ताको आकर्षण घट्दै जाादा यो मौलिक नाच हराउने अवस्थामा पुगेको हो । हराउँदै गएको मौलिक संस्कृति जोगाउन विद्यालयस्तरबाट सुरु गरिएको यो प्रयासले स्थानीय कला संरक्षणमा नयाँ आशा जगाएको छ । आधुनिक जीवनशैली र संस्कृतिको मोहले ओझेलमा परेको मयूर नाच नयाँ पुस्ताले फेरि जीवित बनाउने अपेक्षा गरिएको छ ।