रूकुम पश्चिमको खलंगा बजार क्षेत्रको फोहोर व्यवस्थापनमा कठिनाइ

चार महिनादेखि फोहोर व्यवस्थापन नगरिँदा दुर्गन्ध फैलिँदै
चैत्र ३०, २०८२ |महेश केसी
रूकुम पश्चिमको खलंगा बजार क्षेत्रको फोहोर व्यवस्थापनमा कठिनाइ

रूकुम पश्चिम । रूकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रमा फोहोर व्यवस्थापन हुन नसक्दा समस्या उत्पन्न भएको छ । 

पछिल्लो चार महिनायता बजारबाट फोहोर उठ्न सकेको छैन । जसका कारण वातावरण प्रदूषित भएको छ भने बजार क्षेत्र पनि कुरूप बन्दै जान थालेको छ । खलंगा बजार टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ, बजार पुगेपछि भने अवस्था त्यस्तो छैन। कारण हो, यहाँको फोहोर व्यवस्थापन।

मुसिकोट नगरपालिकाले विगत चार महिनायता बजारबाट दैनिक निस्किने फोहोर व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको हो। मुसिकोटको वडा नं. १ र ५ अन्तर्गत रहेको मुख्य बजार र आवासीय क्षेत्रबाट दैनिक करिब सयाैं टन फोहोर निस्किन्छ ।

नगरपालिकाले फोहोर नउठाउँदा चोक, चौतारी र सडक किनारामा थुप्रिएको फोहोरले दुर्गन्ध फैलिएको मात्र छैन, बजार नै कुरूप बनाएको छ । विगत १२ वर्षदेखि मुसिकोट नगरपालिकाको वडा-२ सतिपोलेमा फोहोर व्यवस्थापन हुँदै आएकोमा गत पुसदेखि स्थानीयले फोहोर फाल्न गरेको अवरोध जारी छ।

नगरपालिकाले सोही स्थानमा फोहोर व्यवस्थापन गर्न प्रयास गरे पनि सफल नहुँदा विकल्पबारे भएका छलफल निचोडमा पुगिसकेका छैनन्। दैनिक निस्किने फोहोर बजार क्षेत्रमा जम्मा हुँदै गएको छ भने धेरैले त घर छेउमै जलाउने गरेका छन्। यसो गर्नाले वातावरण प्रदूषित भइरहेको छ। तर, फोहोर जलाउनु आफूहरूको बाध्यता भएको स्थानीयको गुनासो छ।

नगरपालिकाले मुसिकोट-१ को निपानेमा ल्यान्डफिल साइट निर्माण गरिरहेको छ। तीन वर्षदेखि निर्माण कार्य जारी भए पनि ल्यान्डफिल साइट सम्पन्न हुन सकेको छैन। आगामी असारदेखि यस ठाउँमा फोहोर व्यवस्थापन गर्नेगरी काम भइरहेको बताइएको छ। 

साथै फोहोर वर्गीकरण गरेर यसको पुनः प्रयोग गर्न प्राविधिक ज्ञान र बजेट अभाव भइरहेको नगरपालिकाले जनाएको छ । हाम्रो भान्सादेखि अन्य ठाउँबाट आउने फोहोरको स्रोतमै वर्गीकरण गरे व्यवस्थापन सहज हुन्छ। यसका साथै उचित वर्गीकरण गर्न सके फोहोरबाट मोहोर पनि कमाउन सकिने भएकाले यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ। 

फोहोरबाट आयआर्जन गर्ने सीप सिकाउन सके हरेक घरबाट निस्कनुअघि नै धेरै फोहोर व्यवस्थापन भइसक्ने वातारणविद्हरू पनि बताउँछन्।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।