मस्यौदा समिति : महाअिभयोग प्रक्रियालाई थप स्पष्ट बनाइँदै, कानुन निर्माण प्रक्रियामा समय सीमा

चैत्र २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
मस्यौदा समिति : महाअिभयोग प्रक्रियालाई थप स्पष्ट बनाइँदै, कानुन निर्माण प्रक्रियामा समय सीमा

काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिले विधेयक दर्ता तथा सभामा विधेयकमाथि छलफलको समय निर्धारण, महाअभियोग प्रस्ताव तथा संविधान संशोधनसम्बन्धी प्रावधानहरूमा पुनरावलोकन सुरु गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा यी विषयमा छलफल भएको मस्यौदा समितिका सदस्यहरूले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नियमावली मस्यौदा समितिकी सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विधेयक दर्ताअघि र पछि कति समय दिने ? सरकारी तथा गैरसरकारी विधेयकसम्बन्धीको व्यवस्थाका विषयमा छलफल भएको बताउनु भयो । 

विधेयक दर्ता र छलफलसम्बन्धी प्रावधान प्रतिनिधि सभा नियमावली, २०७९ को १५ देखि १८ परिच्छेदमा रहेको छ । उहाँले महाअभियोग प्रस्ताव र संविधान संशोधन प्रक्रियालाई थप स्पष्ट र छरितो बनाउने गरी बैठकमा छलफल भएको बताउनु भयो ।

नियमावली मस्यौदा समिति सदस्य निश्कल राईले नियमावलीको परिच्छेद १५ अन्तर्गतको व्यवस्थापन कार्यविधिदेखि परिच्छेद १९ मा रहेको महाअभियोग प्रस्तावसम्बन्धी प्रावधान पुनरावलोकनको विषयमा छलफल भएको बताउनुभयो । उहाँले नियमावलीमा रहेका केही उपनियमहरू सच्याउनुपर्ने भन्दै त्यसमा छलफल जारी रहेको बताउनु भयो । यद्यपि यी विषयहरू निष्कर्ष भने निस्किनसकेको उहाँको भनाइ छ ।

नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभालाई व्यवस्थित, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यसहित नियमावली मस्यौदामा काम भइरहेको बताउनु भयो । उहाँकाअनुसार २०७९ सालको प्रतिनिधि सभा नियमावलीलाई आधार मानेर आवश्यक सुधार गर्दै नयाँ नियमावली तयार पारिँदैछ । 

उहाँले विधायिकाले निर्माण गर्ने कानुनमार्फत कार्यपालिकालाई कसरी थप जवाफदेही बनाउने र संसद्‌मार्फत पारित कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने विषयमा समितिको बैठक केन्द्रित रहेको जानकारी दिनुभयो ।

समितिको अर्को बैठक सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म बस्ने तय गरिएको पनि उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.