इलाम । दृष्यावलोकन र जैविक विविधताका दृष्टिले महत्वपूर्ण उत्तरी इलामको सन्दकपुर क्षेत्र यतिबेला लालीगुरााससहितका विभिन्न फूलहरूले बगैचा झैं सजिएको छ।
त्यसैले यतिखेर यहाँ आन्तरिक पर्यटकको लर्को छ। सन्दकपुर गाउँपालिकाको लेकाली क्षेत्रहरूमा यतिबेला ढकमक्क फूलेका विभिन्न प्रजातिका गुराँस, सेतोगुराँस, चाँप, चिमालीलगायतले पर्यटकहरू आकर्षित गरिरहेको छ। चैतको अन्तिम सातातिर सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै आसपासका जंगलमा देखिएको रंगीबिरंगी दृष्यमा रमाउन बाक्लो गरी पर्यटक आएका छन्।
रमणीय डाँडाकाँडा, पोखरी, जडिबुटी र चराचुरुङ्गीको चिरबिरबीच मनमोहक देखिने रंगीन फूलका कारण त्यस क्षेत्रको पर्यटन गतिविधि बढेको छ। स्थानीयको प्रयासमा होटल र होमस्टे खुल्ने क्रम बढेको छ। पाँचथर र भारतको दार्जिलिङसँग सीमा जोडिएको यो क्षेत्रमा ट्रेकिङ रूट निर्माणसहित पर्यटकको सहजताका लागि विश्रामस्थल, स-साना भ्यूटावरलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
जैविक विविधताको दृष्टिले महत्वपूर्ण यो क्षेत्रको जैविक विविधता जोगाउँदै वातावरणमैत्री पूर्वाधार विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने काम अघि बढाइएको सन्दकपुर गाउँपालिकाको भनाइ छ। लोपन्मूख रेडपान्डासहित धेरै प्रजातिका चराचुरुङ्गी र गुराँस पाइने यो क्षेत्रको संवेदनशीलतालाई बेवास्ता गर्न नहुने सरोकारवालाले बताउँदै आएका छन्।
सडक तथा अन्य पूर्वाधार विकास गर्दा भौगोलिक जोखिम बढ्नुको साथै गुराँस र महत्वपूर्ण वन सम्पदामा क्षति हुने गरेको गुनासो पनि बढ्दै गएकाले वातावरणीय पक्षलाई जोगाउँदै पर्यटन विकासका गतिविधि बढाउन ढिलो गर्नु हुँदैन।