मन्त्रीहरूको ‘निर्देशन राजनीति’: देखावटी सक्रियता कि नियन्त्रणमुखी शैली ?

चैत्र २५, २०८२ |अञ्जना लामिछाने
मन्त्रीहरूको ‘निर्देशन राजनीति’: देखावटी सक्रियता कि नियन्त्रणमुखी शैली ?

काठमाडौं । हरेक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रीहरूले आफूमाताहतका निकायलाई निर्देशन दिने पुरानै चलन हो । 

धेरै मानक भत्काएर गठन भएको बालेन सरकारले यो मानक पनि भत्काउला भन्ने आश थियो । तर, यसपटक त झन् सरकार गठनको दुई साता पनि नबित्दै मन्त्रीहरूले ठेलीका ठेली निर्देशन दिइरहेका छन् । सबैभन्दा धेरै हुकुम दिनेमा गृहमन्त्री सुधन गुरुङ हुनुहुन्छ भने एकाधबाहेक निर्देशन नदिने मन्त्री भेटाउनै मुस्किल छ । 

त्यति मात्रै होइन, प्रक्रियागतरूपमा कार्यान्वयन भइसकेको विषयमा पनि मन्त्रीहरूले निर्देशन दिन छोडेका छैनन् । यस्तो हुनुमा सरकारलाई काम देखाउने जनदबाब कि कर्मचारी प्रशासनमाथि सरकारको नियन्त्रणमुखी व्यवहार ?

बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन गर्दै मंगलबार गृहमन्त्री सुधन गुरूङले अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिनुभयो । सोही क्रममा उहाँको अर्को निर्देशन थियो- विपत्तिमा हेलिकोप्टरबाट उद्धार गर्नू । मन्त्री गुरुङले अनुगमनकै क्रममा सुरक्षा निकायलाई पनि उस्तै बेहोराको निर्देशन दिनुभएको थियो ।

त्यसो त बालेन सरकारका सक्रियमध्येका एक मन्त्री हुनुहुन्छ गुरुङ । गुरुङको सक्रियता कस्तो भने, उहाँ जहाँ पुग्नुहुन्छ, निर्देशन दिएर मात्र फर्कनुहुन्छ । सरकार गठन भएयताको १३ दिनमा कान्तिपुरले संकलन गरेको विवरणअनुसार मन्त्री गुरुङले १४ वटा निर्देशन दिनुभएको छ । 

अझ विपद्‌ तयारीमा जुट्नू भन्नेजस्ता एउटै निकायलाई दिइएको फरक फरक निर्देशन जोड्ने हो भने यो संख्या अझ थपिन्छ । कतिपयले गुरुङको निर्देशनको शैलीलाई हुकुमप्रमाङ्गीका रूपमा समेत अर्थ्याएका छन्। किनकि हरेक पटक विपद्‌मा कसैको आदेश नपर्खिई खटिने यिनै सुरक्षा निकाय हुन् । 

यी निकायलाई सुदृढ गराउने योजनामा काम गर्नु त कता हो कता, गरिरहेकै काम गर्नू भनेर आदेश दिँदा यसले आपत्‌को बेला खटिनेहरूको मनोबल बढ्छ कि झन् गिराउने काम गर्छ ? उसो त प्रहरीलाई निर्धक्क भएर कसैको प्रभावमा नपरी काम गर्न पनि गुरुङबाट निर्देशन भएको छ । 

गुरुङ मात्रै होइन यसअघिका प्रत्येक गृहमन्त्रीले प्रहरीलाई यस्तैखाले निर्देशन दिएको पाइन्छ । त्यसैले हामीले प्रहरीलाई सोध्यौँ, के गुरुङको निर्देशन आउनुअघि चाहिँ प्रहरीले प्रभावमा परेर काम गर्थ्यो ? बालेन्द्र शाह नेतृत्वको सरकारमा अहिले एकाधबाहेक निर्देशन नदिने मन्त्री भेटाउनै मुस्किल छ । 

मन्त्रीहरूले करिब ३८ वटा निर्देशन दिएका छन् । तीन दर्जनभन्दा बढी निर्देशनको संख्यामा एउटै निकायलाई एकैपल्ट दिइएका फरक फरक निर्देशन समावेश छैन । हुन त सरकारले जनअपेक्षाअनुसार काम गरेको महसुस गराउन ठेलीका ठेली निर्देशन दिएको हुनसक्छ । यसअघिका सरकारका मन्त्रीहरूले पनि जहाँ पुग्छन्, त्यहिँ निर्देशनको वर्षात् गरेका उदाहरण प्रशस्तै छन्।

तर, मन्दिर जाँदा पनि निर्देशन दिने, अमूर्त विषयमा अमूर्त नै निर्देशन दिने र पहिल्यै कार्यान्वयन भइसकेका र कार्यान्वयन भइरहेकै कुरामा पनि आदेश जारी गर्नेजस्ता प्रवृत्तिले भने कतै सरकार हुकुमीशासनमै त रमाउने होइन भन्ने प्रश्न उठेको छ ।

जस्तो, शिक्षामन्त्री सस्मित पोखरेल चैत २० गते जनक शिक्षा सामग्री केन्द्रमा निरीक्षण गर्न पुग्नुभयो । पुगेपछि केही बोल्नैपर्छ भन्ने लागेर होला, उहाँले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हात हातमा पुर्‍याउन निर्देशन दिनुभयो । कहिलेकाहीँ भइरहेको काम थाहा नहुनसक्छ, तर पुगेपछि निर्देशन दिनैपर्छ भन्ने संस्कार चाहिँ कम्तिमा नयाँ भनिएका दलका युवा मन्त्रीहरूबाट अपेक्षा हुँदैन । 

किनकि दुई वर्षयता विद्यार्थीले शैक्षिक सत्र सुरू हुनुअगावै पुस्तक पाउन थालिसकेका छन् । यसपटक पनि सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा बताउँछ। यस्तै निर्देशन दिन रूचाउने अर्का मन्त्री हुनुहुन्छ- उर्जामन्त्री विराजभक्त श्रेष्ठ । 

निर्देशनको वरियतामा उहाँ ६ निर्देशनसहित दोस्रो स्थानमा हुनुहुन्छ । उहाँका निर्देशन भने प्रायः अमूर्त र उपदेशात्मक हुने गरेका छन् । जनतालाई महसुस हुने गरी काम गर्नू, इमानदारिताका साथ काम गर्नू, मन्त्रालयको काम कारबाही जनतालाई थाहा दिनू भन्ने जस्ता आदेश उहाँबाट जारी भएका छन् ।

आखिर नतिजामूखी काममा भन्दा लोकरिझ्याइँमुखी निर्देशनमा किन ध्यान दिन्छन् मन्त्रीहरू ? त्यसो त अमूर्त निर्देशन दिनेमा स्वयं प्रधानमन्त्री बालेन्द्र शाह पनि हुनुहुन्छ । पदभार ग्रहण गरेलगत्तै मन्त्री तथा सचिवहरूलाई जनताका पक्षमा काम गर्न उहाँले फरमान जारी गर्नुभएको थियो । 

त्यसयता उहाँ मन्त्रिपरिषद्‌बैठक बस्नेबाहेक सार्वजनिक गतिविधिमा देखिनुभएको छैन । निर्देशनहरूको प्रवृत्ति हेर्दा दिनकै लागि दिइएको र कार्यान्वयनको पाटो हेर्दा लिनकै लागि लिइएको जस्तो देखिन्छ । जस्तो अर्थमन्त्री स्वर्णिम वाग्लेले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न निर्देशन त दिनुभयो तर न प्रस्ट योजना छ न विश्वव्यापी ऊर्जा संकटबीच यो कार्यान्वयन हुनसक्ने सम्भावना नै ।

हुन त सबैभन्दा सजिलो नै निर्देशन दिनु हो । गाह्रो त, नतिजा दिनु हो । त्यसैले जनताले ठूलो आश गरेर करिब दुईतिहाइ मत दिएको सरकारलाई सजिलो बाटो रोज्ने छुट हुनुहुँदैन । निर्देशनभन्दा नीति र योजना बनाउन सरकार केन्द्रित हुनुपर्छ । यति भन्दाभन्दै पनि सरकारका मन्त्रीहरूले पटकपटक भन्ने गरेका छन्, बोल्न होइन हामी काम गर्न आएका हौं। आशा गरौं, सरकारका काम पनि निर्देशनजस्तै गन्नलायक हुनेछन्।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।