
काठमाडौं । आह्वान भइसकेको संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउन खोजेको भन्दै विपक्षी दलहरूले त्यसमा साझा धारणा बनाउन संयुक्त बैठक बसेका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसदहरूले सरकारले संसद् छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै त्यसविरुद्ध साझा धारणा बनाएर जानुपर्ने धारणा राखेका छन् ।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले अध्यादेश ल्याएको विषयमा छलफल गर्न विपक्षी दलको बैठक बसेको र यसले साझा धारणा बनाएर अघि बढ्ने जानकारी दिनुभयो । सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता आङदेम्बेले विपक्षी दलहरूको रणनीति बनाउन बैठक बोलाउनुभएको हो ।