काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी बस्तीहरू खाली गराएपछि प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा पाँचसँगै सुनसरीका सुकुम्बासी बस्तीहरूमा त्रास छाएको छ ।
आफूलाई सही तरिकाले व्यवस्थापन गरिन्छ भन्ने आशा राखेका उनीहरू सरकारले छोटो सूचनाको बीचमा धमाधम सुकुम्बासी बस्तीमा डोजर चलाएको देखेर अत्तालिएका छन् । काठमाडौं उपत्यकामा रहेका सुकुम्बासी बस्तीहरु खाली गराएपछि सुनसरीमा रहेका सुकुम्बासी बस्तीहरुमा के हुन्छ भन्ने चासो र चिन्ता बढेको छ ।
सुनसरीमा ४२ हजार घरपरिवार सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी सुकुम्बासी धरान उपमहानगरपालिकामा रहेका छन् । धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा १४ हजार ७ सय ९१ घरपरिवार सुकुम्बासी रहेका छन् । उनीहरू अधिकांश सेउती, सर्दु र सेरा खोलाको किनारमा बर्षौदेखी बसिरहेका छन् ।
हरेक पटकको निर्वाचनमा चुनावी एजेन्डा बन्ने गरेको धरानको सुकुम्बासी बस्ती व्यवस्थापनको मुद्दा ज्यूका त्यू छ । सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा सुकुम्बासी बस्तीमा डोजर चलाएपछि त्रसित बनेका धरानका सुकुम्बासीहरुले कार्यबाहक नगरप्रमुख अइन्द्रबिक्रम बेघालाई भेटेर स्थानीय सरकारको योजनाबारे बुझेका छन् ।
कार्यवाहक नगरप्रमुख बेघाले अहिलेनै बस्ती खाली गर्ने कुनै योजना नरहेको भन्दै ढुक्क हुन आग्रह गर्नुभएकाे छ । सुनसरीमा धरानपछी इटहरीमा १० हजार घर परिवार सुकुम्बासी छन् । इनरुवा, बराहक्षेत्र, दुहबी, रामधुनी नगरपालिका तथा कोशी र बर्जु गाउँपालिका लगायतका स्थानीय तहमा पनि सुकुम्बासी घरपरिवार रहेका छन् ।
उनीहरू विभिन्न खोला किनार, बन, धार्मिक तथा गुढी क्षेत्रको जग्गा अतिक्रमण गरी बसेका छन् । काठमाडौंमा सुकुम्बासी बस्ती हटाउन डोजर चलाइएको विषय अहिले देशव्यापी बहसको केन्द्र बनेको छ। यसको प्रभाव पूर्वी जिल्ला झापामा पनि देखिन थालेको छ, विशेषगरी झापा क्षेत्र नम्बर ५ का सुकुम्बासी बस्तीहरूमा त्रास र अन्योल बढ्दै गएको छ।
झापा क्षेत्र नम्बर ५ सुकुम्बासी बस्तीका प्रीतम लिङ्गदेन भन्नुहुन्छ अहिले सरकार अलि उल्टो तरिकाले चलेको हो कि भन्ने लागिरहेको छ। पहिले सुकुमबासीलाई व्यवस्थापन गरेर डोजर चलाए उत्तम हुने उहाँले बताउनुभयो ।