बुधबारभित्र मुद्दा नचले ओली र लेखक थुनामुक्त हुने

चैत्र २३, २०८२ |किरण पौडेल
बुधबारभित्र मुद्दा नचले ओली र लेखक थुनामुक्त हुने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाको पाँत दिन म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले चैत २१ देखि लागू हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप गरेको थियो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशले ओली र लेखक आगामी बिहीबार हिरासतमुक्त हुनेछन् । गत भदौ २३ र ३४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहेका उनीहरूले लापरबाही गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि रास्वपा नेतृत्वमा नयाँ सरकार गठन भएसँगै ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । प्रहरीले जरूरी पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई पक्राउ गरेको थियो भने चैत १५ गते थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । 

प्रहरीले अदालतबाट अनुमति समेत नलिइ पक्राउ गरेको दाबी गर्दै ओली र लेखकका तर्फबाट परिवारले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए । उक्त निवेदनमा दोस्रो सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मुलुकी फौजदारी संहिताको दफा १८१, १८२ र १८३ अनुसार प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो । उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेर्क्याइँपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्छ उल्लेख छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।