१४औं संस्करणको कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते

चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
१४औं संस्करणको कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते

काठमाडौं । १४औं संस्करणको कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते आयोजना हुने भएको छ । 

आयोजक कान्तिपुर मिडिया ग्रुपले साेमबार पत्रकार सम्मेलन गरेर 'रन फर नेपाल' भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । प्रतियोगितामा ग्लोबल आइएमई बैंक मुख्य प्रायोजक रहेको छ भने एक्स्ट्रिम इनर्जी ड्रिङ्क पावर्ड बाई साझेदार रहने छ । 

यस वर्षदेखि हाफ म्याराथनतर्फ प्रविधिको प्रयोग गरेर धावकले दौड पूरा गरेको सही समय अन्याधुनिक चिपमार्फत मापन गरिने छ । प्रतियोगितामा चार विधा समावेश गरिएको छ । मुख्य विधा २१ दशमलव १ किलोमिटर हाफ म्याराथन हुनेछ । त्यस्तै कर्पोरेट एन्य इन्फुलेएन्सर रन ५ किलोमिटर, एक्स्ट्रिम कलेज रन ७ किलोमिटर र ह्वीलचेयर दौड ३ किलोमिटर हुनेछ ।

हाफ म्याराथनमा पुरूष तथा महिला दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार तथा तेस्रोदेखि छौंटौं स्थानमा आउने प्रतिस्पर्धीले ५० हजार, ३० हजार, २० हजार र १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

ह्वीलचेयर दौडतर्फ विजेताले ३५ हजार रूपैयाँ, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। कर्पोरेट तथा कलेज दौडमा पुरुष र महिला दुवैतर्फ शीर्ष तीन स्थानमा रहनेलाई विभिन्न पुरस्कार तथा उपहार प्रदान गरिनेछ । यस्तै कलेज रनका विजेताले भारत गएर आईपीएल २०२६ को फाइनल खेल हेर्ने अवसर पाउनेछन् ।

गत संस्करण भन्दा यसपटक प्रतियोगिताको रूट परिवर्तन गरिएको छ । यस पटक दौड तीनकुनेस्थित कान्तिपुर कार्यालय अगाडिबाट सुरू हुनेछ । हाफ म्याराथनको मार्ग तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै जगाती चोकबाट फर्केर पुनः कोटेश्वर हुँदै तीनकुने पुगेर टुंगिनेछ ।

कर्पोरेट दौड तीनकुनेबाट सुरू भएर लोकन्थली पुलबाट फर्केर कोटेश्वर हुँदै तीनकुनेमा टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्वीलचेयर दौड कोटेश्वरबाट फर्किएर तीनकुनेमा टुङ्गिने छ । कलेज दौड भने कोटेश्वर हुँदै तीनकुनेबाट भक्तपुरको गठ्ठाघर चोक पुगेर फर्किने छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने हाफ म्याराथनमा केएफसी र पिजा हट सेलिब्रेसन पार्टनर, फ्रन्टलाइन अस्पताल मेडिकल पार्टनर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड फुड पार्टनरका रूपमा रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.