
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को गुप्तचर संगठनका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका छन् ।
आईआरजीसीले विज्ञप्ति जारी गरेर खादेमी मृत्युको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ । खादेमी आज बिहान मारिएको समाचारमा जनाइएको छ । यसैबीच इजरायलका रक्षामन्त्री इजरायल काट्ज र इजरायल रक्षा बलले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका छन् ।
रक्षा बलले खादेमीको मृत्यु आईआरजीसीलाई अर्को ठूलो धक्का भएको बताएको छ । सन् २०२५ जुन १५ मा इजरायलको आक्रमणमा मोहम्मद काजेमी मारिएको चार दिनपछि खादेमीलाई आईआरजीसी गुप्तचर संगठनको कमान्डर नियुक्त गरिएको थियो ।
अमेरिका-इजरायले संयुक्त आक्रमणको पहिलो दिन गत फेब्रुअरी २८ मै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारी मारेको थियो । त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता तथा जनसम्पर्क अधिकारी, नौसेना कमान्डर, नौसेना गुप्तचर निर्देशनालयका प्रमुख र हालका गुप्तचर संगठनका प्रमुख माजिद खादेमी पनि मारिएका छन् ।
बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार इलाका रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व पश्चिम एसियाभरि फैलिएको छ । जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा ५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।