बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

चैत्र २३, २०८२ |पुजन धिताल
बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि उत्पन्न सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत काभ्रेभन्ज्याङ–मङ्गलटार सडक खण्डमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ।

मौसमको प्रतिकूल अवस्थाका कारण उक्त सडक खण्डमा पहिरो जाने, ढुंगा खस्ने तथा सडक क्षति हुने जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले सावधानीस्वरूप सवारी आवागमन रोकेको हो। यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिइएको जनाइएको छ।

काभ्रे प्रहरीका सूचना अधिकारी रविन विष्टकाअनुसार जोखिमपूर्ण अवस्था कायम रहँदासम्म सो क्षेत्रमा सवारी आवागमन स्थगित रहनेछ। उहाँले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गर्नुभयाे।

सडकको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ। शनिबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै विभिन्न स्थानमा जोखिम बढ्दै गएको छ। 

सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले समयमै सतर्कता अपनाउँदै यस्तो कदम चालिएको जनाएको छ। प्रशासनले मौसममा सुधार आएपछि तथा सडक सुरक्षित भएपछि मात्रै सवारी आवागमन पुनः सञ्चालन गरिने स्पष्ट पारेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।