
धनगढी । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आवश्यक परेको स्थानमा कानुनअनुसार बल प्रयोग गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीको २५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले कानुनले नछेकेको अवस्थामा आवश्यक बल प्रयोग गर्न हिचकिचाउन नहुने स्पष्ट पार्नुभयो।
हालै सीमा सुरक्षा गुल्म खक्रौलामा केही व्यक्तिहरू कार्यालयभित्रै प्रवेश गरी प्रहरीमाथि आक्रमण गर्न खोज्दा पनि प्रहरी निष्क्रिय बनेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्तो अवस्थामा तत्काल प्रतिवाद गर्नुपर्ने बताउनुभयो। “अपराधी र तस्करलाई संरक्षण गर्ने होइन, कानुनअनुसार कारबाही गर्नुस्,” उहाँले भन्नुभयो, “युनिटभित्र छिरेर आक्रमण हुँदा बसिरहने होइन, तुरून्त प्रतिकार गर्नुपर्छ।”
महानिरीक्षक अर्यालले सीमा सुरक्षालाई थप कडाइ गरिने बताउँदै जनशक्ति सीमाक्षेत्रमै केन्द्रित गर्न निर्देशन दिनुभयो। “सिमानामा स्थायी बसोबासको समस्या भए पनि २४सै घन्टा पेट्रोलिङ हुने व्यवस्था मिलाउनुस्,” उहाँले भन्नुभयो। सीमामा हाल जनशक्ति अभाव रहेको स्वीकार गर्दै चाँडै थप गर्ने योजना रहेको उहाँले जानकारी पनि दिनुभयो।
सीमामा हुने घुसपैठ, राजस्व छली, चोरी–पैठारी, मानव बेचबिखन तथा लागूऔषध ओसारपसारलाई गम्भीरतापूर्वक लिएर कडाइका साथ चेकजाँच गर्न उहाँले निर्देशन दिनुभयो। कार्यक्रममा निमित्त बाहिनीपति प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले सरकारको निर्देशन कार्यान्वयन गर्न सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
उक्त अवसरमा महानिरीक्षक अर्यालले विभिन्न क्षेत्रमा योगदान पुर्याउने नागरिक समाजका प्रतिनिधि तथा प्रहरी कर्मचारीहरूलाई सम्मान समेत गर्नुभएको थियो।