
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिनुभएको छ।
रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।
राष्ट्रिय सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारीको विषय नभएर सबैको साझा चासोको विषय भएको बताउँदै उहाँले भूराजनीतिलाई प्रविधिसँगै पनि जोडेर हेर्नुपर्ने खाँचो औँल्याउनुभयो । सो अवसरमा प्रधानसेनापति सिग्देलले दुई सातासम्म सञ्चालन भएको तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गनुभएको थियो भने रक्षा सचिव केदारनाथ शर्माले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कलेजका निमित्त शिक्षाध्यक्ष सहायक रथी दिलविक्रम सुब्बाले तालिमको महत्त्व र उपादयिताका बारेमा प्रकाश पार्नुभएको थियो । तालिममा नेपाल सरकारका प्रथम तथा दितीय श्रेणीका अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकृत, सञ्चारकर्मीलगायत गरी ३० जनाको सहभागिता रहेको थियो ।
तालिमकै दौरानमा ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनारको आयोजना गरिनुको साथै सम्पन्न सहभागीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गराइएको थियो ।