
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रेडक्रसभित्रको बेथिति रोक्न चासो देखाउनुभएको छ ।
रेडक्रमका नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण र दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गरी नयाँ संरचना बनाउन मधेश प्रदेशका सांसदहरूले माग गरेपछि प्रधानमन्त्री शाहले त्यसबारे आजै निर्देशन दिने बताउनुभएको हो ।
प्रधानमन्त्री शाहले बुधबार मधेश प्रदेशबाट निर्वाचित सांसदहरूसँग क्षेत्र तथा प्रदेशगत समस्याबारे छलफल गर्नुभएको थियो । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सिँचाइ तथा भौतिक निर्माणका काममा देखिएका समस्या र समाधानका उपायसहित प्रधानमन्त्री शाहले सांसदसँग ब्रिफिङ लिनुभएको हो ।
सांसदहरूले सेवा प्रवाहमा देखिएका अवरोध, विकास निर्माणमा ढिलाइसहित रेडक्रसको नाममा भइरहेको संगठित भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै रेडक्रस समितिहरू विघटन गर्नुपर्ने धारणा राखेका थिए । विभिन्न जिल्लाहरूमा मुद्दा दर्ता गर्न नखोज्ने कार्यहरु तत्काल रोक्नुपर्यो भनेर पनि सांसदहरूले भनेका थिए ।
जवाफमा प्रधानमन्त्री शाहले मुख्य सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिने बताउनुभएको थियो ।