
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल एपीएफ क्लबलाई सुपर ओभरमा पराजित गरेको छ ।
जारी प्रतियोगितामा एपीएफको यो तेस्रो हार हो । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफ ३९ ओभर ४ बलमा १ सय २४ रन बनाउदा अल आउट भयो । अजय चौहान र सन्तोष यादवले उत्कृष्ट बलिङ गरेपछि विभागीय टिमका कुनै पनि खेलाडीबीच लामो साझेदारी हुन सकेन ।
आसिफ शेख १५ र दिपक बोहरा २० रनमा आउट हुँदा कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । सन्दिप जोरा १७ रनमा आउट हुँदा सुमित महर्जनले पनि खाता खोल्न सकेनन् । लोकेश बमले १७ र अभिषेक गौतमले २८ रन बनाएका थिए । अजयले चार र सन्तोषले तीन विकेट लिए ।
जवाफमा लुम्बिनीले पनि ३४ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रननै बनाएपछि खेल टाइ भएको हो । कप्तान तथा ओपनर देव खनालले ४५ र आकाश त्रिपाठीले ३२ रन बनाएपनि अन्य ब्याटर सस्तैमा पभेलियन फर्किए । रोहितले तीन, अभिषेक, भुवन कार्की र युवराज खत्रीले २-२ विकेट लिए ।
सुपर ओभरमा लुम्बिनीले पुन: पुनरागमन गर्यो । लुम्बिनीले पहिले ब्याटिङ गर्दै एपीएफलाई १५ रनको लक्ष्य दिएको थियो । त्यस क्रममा एपीएफले ६ रन मात्र जोड्न सक्यो । एपीएफ आफ्नो अघिल्लो खेलमा गन्डकी प्रदेशसँग पराजित भएको थियो । सातौं स्थानमा रहेको एपीएफको पाँच खेलबाट तीन अंक छ । पाँचौं स्थानको लुम्बिनीको पाँच खेलबाट पाँच अंक छ ।