पश्चिम एसियाको युद्धबीच चारसय नेपाली नेपाल फर्किने, शवसमेत उद्धार हुँदै

चैत्र १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसियाको युद्धबीच चारसय नेपाली नेपाल फर्किने, शवसमेत उद्धार हुँदै

काठमाडौं । सरकारले पश्चिम एसियामा जारी युद्धका कारण समस्यामा परेका चारसय नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्काउन लागेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले युद्धका कारण चाहेर पनि घर फर्कन नसकिरहेका नेपालीलाई सहुलियत शुल्कमा नेपाल एयरलाइन्समार्फत ल्याउन लागिएको कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभएको हो । उहाँका अनुसार शुक्रबार यूएईको दुबईबाट र आइतबार साउदी अरेबियाको दमामबाट चार सय नेपाली नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनेछन् । 

अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण अहिले पश्चिम एसियाका मुलुकमा उडान हुन सकेको छैन । यसैगरी भाडा पनि तेब्बर हुँदा कतिपय नेपाली चाहेर पनि फर्कन नसकिरहेको अवस्थामा सहजीकरण गरेर नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यूएई र साउदी अरेबियाको जहाज भाडा सामान्य अवस्थामा ४५ हजार भए पनि अहिले १ लाखभन्दा बढी पुगेको छ । चार सय नेपालीसहित ती मुलुकमा विभिन्न कारण मृत्यु भएका १२ भन्दाबढी नेपालीको शवसमेत ल्याइनेछ । साउदी अरबियाका श्रम सहचारी कविराज उप्रेतीले नाै सयभन्दा बढी नेपालीले असुरक्षित भएको जानकारी नेपाली दूतावासलाई गराएको जानकारी दिनुभएको छ । 

उनीहरूले नेपाल आउनका लागि सहजीकरण गरिदिन नाम टिपाएका हुन्। पहिलो चरण यिनै सम्पर्कमा आएका नेपालीहरूलाई पठाउने उहाँले बताउनुभयो। यता सरकारले पश्चिम एसिया तनावका कारण आपूर्ति र रोजगारीमा पर्ने असर र दीर्घकालीन समाधानको उपायबारे अध्ययन गर्न दुई वटा उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ।

दुबै कार्यदल परराष्ट्रमन्त्री खनालको संयोजकत्वमा गठन भएका हुन्। पहिलो कार्यदललाई सात दिनको समय सीमा तोकिएको छ भने दोस्रो कार्यदललाई एक महिनाको समयसीमा दिएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। मन्त्री खनालको कार्यदलका सदस्यहरूमा परराष्ट्र, अर्थ, उद्योग, श्रम र पर्यटन मन्त्रालयका सचिवहरू रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाली मुलुकमा हाल १८ लाख नेपाली छन् । तिनमा सबैभन्दा बढी यूएईमा झन्डृ पाँच लाख छन् । यस्तै कतारमा साढे तीन लाख र साउदी अरबमा चार लाख नेपाली रहेको परराष्ट्रको तथ्यांक छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.