
बुटवल । कुवेतबाट नेपाली श्रमिक स्वदेश फर्किएका छन् । कुवेत एयरवेजको बोईङ ७७७–३०० विमानबाट हिजो साँझ ३ सय १८ जना नेपाली गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
त्यसमध्ये २ सय ९१ जना कुवेत सरकारले डिपोर्ट गरेका नेपाली छन् । कुवेत सरकारको कानुन उल्लङ्घन गरेको आरोपमा ती नेपालीहरुलाई डिपोर्ट गरिएको हो । कुवेतमा मदिरा सेवन गरि हो हल्ला गरेको, अफवा फैलाउने काम गरेको, कानुनले वर्जित गरेका गतिविधिका आधारमा डिपोर्ट गरिएको कुवेत स्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । उनीहरुलाई कुवेत सरकारकै खर्चमा ल्याइएको हो । नियमित उडान नभएका कारण विमान चार्टड गरि ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बाँकी नेपाली श्रमिक अलपत्र परेका हुन् ।
विमानमा ९ जनाको शव पनि रहेको छ । यी शव युद्धको घटनाबाट मृत्यु भएको नभइ विरामी र अन्य विविध कारण मृत्यु भएका नेपाली श्रमिकको रहेको परराष्ट तथा श्रम मन्त्रालयले जनाएको छ । मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुसिराम चौधरी (दाङ), रमेश नेपालि (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) का रहेका छन् ।
विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहका अनुसार ३४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो ल्याइएको छ । साहका अनुसार पश्चिम एशियाको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो । कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको उहाँले बताउनुभयो ।
उक्त विमान भैरहवाबाट हिजो राति नै पाकिस्तानको लाहोरतर्फ प्रस्थान गरेको छ । लाहोरबाट आवश्यक कार्गो लिएर विमान पुनः कुवेत फर्कनेछ ।
‘नाेट : समाचारकाे शीर्षक र समाचार अपडेट गरिएको छ । यसअघि केही नेपाली डिपोर्ट भइ फर्किएको उल्लेख भएकोमा परराष्ट्र मन्त्रालय र कुवेतस्थित नेपाली दूतावासले डिपोर्ट भइ नेपाल फर्किएकाहरुको संख्या २९१ र नेपालीका ९ शव रहेको पुष्टी गरेपछि समाचार अपडेट गरिएको हो ।'