नवलपरासीमा कृत्रिम पोखरी निर्माण : सिमसार संरक्षण र डढेलो नियन्त्रणमा नयाँ पहल

चैत्र १८, २०८२ |नवीन पौडेल
नवलपरासीमा कृत्रिम पोखरी निर्माण : सिमसार संरक्षण र डढेलो नियन्त्रणमा नयाँ पहल

नवलपरासी । नवलपरासीका विभिन्न सामुदायिक र मध्यवर्ती वन क्षेत्रमा पोखरी बनाएर सिमसार संरक्षणमा उपभोक्ता र सरोकारवाला लागि परेका छन् । 

यसरी निर्माण गरिएका कृतिम पोखरीले सुख्खायाममा डढेलो नियन्त्रणका लागि पानीको स्रोत हुने र जंगली जनावर तथा चौपायालाई पनि सहज हुने अपेक्षा गरिएको छ । पश्चिम नवलपरासीका विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको छ। 

चालु आर्थिक वर्षमा जिल्लाका ११ वटा सामुदायिक वनमा एक एकवटा पोखरी निर्माण गरिएको हो। पानीको अभाव हुँदा गर्मीयाममा वन्यजन्तु र चौपाया आहाराको खोजीमा बस्ती छिर्ने गरेको र वनमा डढेलो लाग्दा निभाउन पानीको अभाव हुने भएकाले यस्तो योजना अगाडि सारिएको हो।

वनभित्र रहेका सिमसार र पानीको स्रोत सुक्दै जाने क्रम छ। केही वर्षदेखि नै पानीका स्रोत संरक्षणसँगै नयाँ पोखरी निर्माण गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ। यसले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्ने र वन संरक्षणसँगै जैविक विविधता जोगाउने लक्ष्य पूरा गर्न सहयोग गर्ने वन कार्यालयले जनाएको छ। 

केही वर्षअघि बर्दघाट र सुनवलमा केही वर्षअघि नमुना परियोजनाको रूपमा निर्माण गरिएको कृतिम पोखरीको उपयोग र प्रभाव राम्रो भएपछि थप पोखरी निर्माण गरिएको हो । वन कार्यालय र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण कार्यक्रमले योजना सञ्चालन गर्दै आएको छ ।

पश्चिम नवलपरासीमा मात्र नभइ पूर्वी नवलपरासीमा पनि सिमसार क्षेत्र संरक्षणका लागि पोखरी निर्माण गर्ने र सोलार बोरिङ्गमार्फत पानीको प्रबन्ध गरिएको छ। कावासोती नगरपालिका-१३ मा वनभित्र सौर्य ऊर्जाबाट चल्ने बोरिङ्ग जडान गरी पानीको व्यवस्थापन गरिएको छ। केही वर्ष अगाडिसम्म सुख्खा मौसममा पनि प्रशस्त पानी हुने सेनचुरी घोलमा अहिले हिउँदमा पानी सुक्न थालेपछि बोरिङ्ग गाडेर पानी व्यवस्थापन गरिएको छ ।

सौर्य ऊर्जाबाट सञ्चालित बोरिङ्ग घाम लागेको समयमा आफै सञ्चालन हुने र रातमा बन्द हुने गर्दछ। सिमसारहरु सुक्ने र पानी अभाव हुँदा वन्यजन्तु बस्ती पस्नेमात्र नभइ बासस्थान परिवर्तन गर्ने गर्दछन्। यसका लागि सिमसार र पानीको व्यवस्थापनमा सरकारले समयमै ध्यान दिन आवश्यक छ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।