प्रधानमन्त्री कप : बागमतीकाे दोस्रो जित

चैत्र १८, २०८२ |खेल ब्युरो
प्रधानमन्त्री कप : बागमतीकाे दोस्रो जित

काठमाडौं । बागमती प्रदेशले जारी प्रधानमन्त्री कपमा दोस्रो जित हात पारेको छ । 

बुधबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ६० रनले हराएको हो । बागमतीका लागि स्पिनर संदिप लामिछाने एक्लैले सात विकेट लिए । जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा कर्णालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । बागमतीले ३८ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । 

शुभ कंसाकरले २०, शिभम तिवारीले १८, पवन थापाले २२ र इशान पान्डेले २७ रन जोडे । विवेक मगरले ५६ रनको योगदान गरे । तल्लो क्रमका ब्याटरको प्रदर्शन भने उल्लेख्य रहेन । दिवाना पुनले तीन विकेट लिए । जवाफमा कर्णाली २५ दशमलब एक बलमा १ सय २० रनमा समेटियो । 

निश्चल रावलले ३१, सुनिल धमलाले १४, विपिन शाहीले १५ र दिनेश अधिकारीले २२ रन बनाए । संदिपले ९ ओभर १ बलमा ४० रन दिएर ७ विकेट लिएपछि कर्णालीको इनिङ्स कोल्याप्स भएको हो । छैटौं स्थानमा रहेको बागमतीले ५ खेलबाट चार अंक जोडेको छ । आठौं स्थानको कर्णालीको तीन अंक छ । शीर्ष तीनमा पुलिस, मधेश र आर्मी छन् ।