.png&w=1000&height=550)
पाल्पा । पाँचसय वर्षअघि मणिमुकुन्द सेन प्रथमले राज्य स्थापना गरेको पाल्पाको रिब्दीकोट जलेश्वर क्षेत्रलाई धार्मिक एवं वनस्पति उद्यान बनाएर पर्यटकीय गन्तव्यका रूपमा चिनाउन अभियान अघि बढेको छ ।
त्यस क्षेत्रको विकासका तीनै तहका सरकारले सक्रियता देखाएका हुन् । जलेश्वर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन भौतिक संरचना निर्माणको काम अघि बढेको छ । पाँचसय वर्षअघि पाल्पा चौबिसे राज्य थियो । त्यतिबेला पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।
खस राज्यको विघटनपछि बनेको पाल्पा राज्यको स्थापना रिब्दीकोटका शासक रूद्र सेनले वि.सं. १५५० मा गरेका थिए । हाल रिब्दीकोट गाउँपालिका-५, जलेश्वर क्षेत्रमा पर्ने यो ठाउँलाई धार्मिक पर्यटनस्थल बनाउने योजना अघि सारिएको छ । रिब्दीकोट गाउँपालिकाले धार्मिक गतिविधि गर्नुका साथै संघीय र प्रदेश सरकारको सहयोगमा भौतिक निर्माणका काम अघि बढाएको छ ।
रिब्दीकोट क्षेत्रलाई वनस्पति उद्यानको रूपमा समेत विकास गरिँदैछ । यहाँ शिवपार्वती, शिवलिङ्गको मूर्ति बनाइएको छ भने अन्य भौतिक निर्माणको काम धमाधम अघि बढेको छ । १ सय ८ वरपीपल लगाइएको छ भने टिमुर, चाप, चिराइँतो, अम्रिसो जस्ता दर्जनौ वनस्पतीजन्य विरुवा लगाइएको छ ।
शिवलिङ्ग, १०८ धाराका साथै भौतिक पूर्वाधारका कार्य गरिनुका साथै धार्मिक र वनस्पति अध्ययनको गन्तव्य बनाउने योजना अघि बढेको हो । संघीय, प्रदेश र स्थानीय सरकारबाट अहिलेसम्म तीन करोडभन्दा धेरै बजेट खर्च भइसकेको छ भने थप २ करोडको योजना अघि बढेको छ ।
जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरूको आक्रमणबाट बच्न बुटवलको बाटो भएर रिब्दीकोट आएका सेन वंशीय राजाले यस क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिकरूपमा महत्वपूर्णस्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गा रहेको छ ।
यहाँको धार्मिक महत्वसमेत अनौठो छ । भैरवस्थानको भैरवमन्दिरमा रोट चढाएपछि जलेश्वर क्षेत्रमा रहेको मन्दिरमा समेत चढाउनुपर्ने हुन्थ्यो भने जलेश्वर मन्दिरबाट विगुल बजाएपछि भैरव मन्दिरमा पूजा गर्ने चलन थियो ।