एन्फा-राखेप विवादले महिला फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाटै वञ्चित

चैत्र १८, २०८२ |खेल ब्युरो
एन्फा-राखेप विवादले महिला फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाटै वञ्चित

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा र राष्ट्रिय खेलकुद परिषद्-राखेपबीचको आन्तरिक विवादका कारण नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित भएको छ। 

नेपालले थाइल्यान्डमा आयोजना हुने फिफा महिला सिरिज गुमाउने भएको हो । चैत २९ र वैशाख २ गते सञ्चालन हुने प्रतियोगितामा आयोजक थाइल्यान्डसहित कंगो, नेपाल र न्यु क्याले-डोनिया सहभागी हुने तय थियो । तर, अन्तिम समयमा नेपाल सहभागी हुन नसक्ने भएपछि इन्डोनेसियाले नेपालको स्थान लिएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले आफूहर" राखेपको निलम्बनमा परेकाले आवश्यक कागजी प्रक्रिया अघि बढाउन नसकिएको बताएका छन् । यता राखेपका सदस्य-सचिव रामचरित्र मेहताले भने यसबारे कुनै औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।

विश्व कप छनोटअन्तर्गत लाओसविर"द्धको मंगलबारको खेलका लागि भने निलम्बन अघि नै प्रक्रिया अघि बढाएको एन्फाले जनाएको छ । यसअघि एन्फाले प्रतियोगिताका लागि ३२ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरिसकेको थियो । प्रतियोगिताको ढाँचाअनुसार पहिलो खेलमा नेपालले कंगोसँग खेल्ने तालिका थियो । तर, अब परिमार्जित तालिकाअनुसार इन्डोनेसिया र कंगो आमनेसामने हुनेछन् ।

प्रतियोगितामा पहिलो खेल जित्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ भने पराजित टोलीहरूले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । आफ्नो निर्देशन विपरीत निर्वाचन गर्न लागेको भन्दै राखेपले एन्फालाई यही चैत ११ गते निलम्बन गरेको थियो । एन्फा र राखेपको विवाद कारण यसअघि चैत १२ गते दशरथ रंगशालामा हुने भनिएको नेपाल र हङकङ पुरुष टिमबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि स्थगित भएको थियो ।

फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पहलको दोस्रो संस्करण हो । यसअघि सन् २०२४ मा पहिलो संस्करण परीक्षणका रूपमा आयोजना गरिएको थियो । यसपटक ५० राष्ट्रिय टोली सहभागी सिरिजमा टोलीहरूलाई तीन वा चार टोली रहने गरी १३ समूहमा विभाजन गरिएको छ । 

सिरिज १२ राष्ट्रमा आयोजना हुँदैछ । कुल समूहमध्ये ९ पुरुष र ४ समूह महिला राष्ट्रिय टोलीका छन् । जहाँ ६ वटा महासंघको प्रतिनिधित्व छ ।