
काठमाडौं । एनएनआइपीए स्पोट्स अवार्डको तयारी पूरा भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ ।
पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुन लागेको अवार्ड कार्यक्रम शुक्रबार काभ्रेको बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिर परिसरमा आयोजना हुने छ। अवार्डका लागि नेपाल ओलम्पिक कमिटीमा आबद्ध २६ खेलका उत्कृष्ट खेलाडीलाई सम्बन्धित संघले सिफारिस गर्ने छन् ।
सिफारिस भएका खेलाडीलाई जनही १५ हजारका दरले सम्मानित गरिने छ भने यिनै खेलाडीमध्येबाट १ महिला र १ पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डले सम्मानित गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने छ । २७ खेललाई पत्राचार गरेपनि २०८१ मा शुटिङका कुनै खेल आयोजना नभएको भन्दै संघले कुनै खेलाडीको नाम नपठाएको एनएन-आइपीएका महासचिव शिव सुन्दर गोथेले जानकारी दिनुभयो ।
अवार्डका लागि फुटबल, जिम्नाष्टिक, एथलेटिक्स र स्वीमिङलगायतका २६ खेलबाट खेलाडी सिफारिस गरिएको छ । यस्तै एक जना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार र एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डले पनि सम्मनित गरिने छ ।
आदर्श खेल व्यक्तित्व र पत्रकारलाई ३५-३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ । अवार्ड कार्यक्रममा स्थानीय आयोजकको रुपमा बनेपा नगरपालिकाको समेत सहकार्य रहने छ ।