
चितवन । वन्यजन्तुको संख्या बढाउन व्यवस्थित बासस्थानको निकै महत्व हुन्छ ।
घाँसे मैदान र सिमसार क्षेत्र राम्रो नहुँदा वन्यजन्तु व्यवस्थापनमा कठिनाइ हुन्छ । त्यसैको प्रयासस्वरूप लागि चितवन राष्ट्रिय निकुञ्जले कृत्रिम सिमसार क्षेत्र निर्माण गर्न थालेको छ । यसवर्ष थप सिमसार क्षेत्र बनाइएको छ । तर, पुराना सिमसार क्षेत्रको संरक्षणमा भने कठिनाइ भइरहेको छ ।
नेपालकै पहिलो हो चितवन राष्ट्रिय निकुञ्ज । २०३० असोज ४ गते स्थापना भएको यो निकुञ्ज बाघ, हात्ती, गैंडालगायत वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो । मानवलाई जस्तै वन्यजन्तुलाई पनि बाँच्नका लागि आहारा र पानीको आवश्यकता पर्छ । पछिल्लो समय घाँसे मैदान र सिमसार क्षेत्र मासिँदै गएपछि वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गइरहेको छ ।
यही समस्यालाई ध्यानमा राखेर घाँसे मैदान र सिमसार क्षेत्रको व्यवस्थापनमा निकुञ्ज लागि परेको छ । यो आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जले सुखीभार पोस्ट नजिकै कृत्रिम पोखरी निर्माण गरेको छ । सुक्खायाममा पानीको अभावलाई पूर्ति गर्न ९७ मिटर लम्बाइ र २५ मिटर चौडाइको सोलारसहितको पोखरी निर्माण गरिएको हो ।
निकुञ्जले तराई भू-परिधि कार्यक्रमको सहकार्यमा करिब ९ लाख रूपैयाँमा यो पोखरी निर्माण गरेको हो । दुई महिनाअघिबाट मात्र सञ्चालनमा आएको यो पोखरीको वन्यजन्तुले प्रयोग गर्न थालिसकेका छन् । यस्तो खालको पोखरी निकुञ्जको मुख्यालय कसरा नजिकै पनि निर्माण गरिएको छ ।
त्यसअघि भिम्ले पोस्ट नजिकै पनि सोलारसहितको पोखरी निर्माण गरिएको थियो । केही कृत्रिम पोखरी निर्माण गरिए पनि निकुञ्जभित्र रहेका तालतलैयाको संरक्षणमा भने कठिनाइ छ । ताल संरक्षणका लागि आवश्यक बजेट नहुँदा नन्द भाउजु, देवी ताललगायतका सिमसार क्षेत्र संकटमा छन् ।
संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएको छ । पछिल्लो वर्षमा गरिएका सरसफाइले यी तालहरू जोगिएका छन् । तर, बजेट अभावका कारण विगतमा चर्चित रहेको नन्द भाउजु ताललगायतका सिमसार क्षेत्र अझै संकटमा छ ।