
खोटाङ । शुक्रबार बेलुकाबाट चट्याङसहित आएको अविरल वर्षाले खोटाङको जनजीवन प्रभावित बनेको छ ।
वर्षाले दैनिक जनजीवन प्रभावित बनेको हो । पूर्वी पहाडी जिल्लाकारूपमा रहेको यहाँ वर्षासँगै चिसो पनि बढेको छ भने उच्च लेकाली भू-भाग, मुडे, ट्याम्के, रूपाकोटलगायतका क्षेत्रमा सामान्य हिमपात भएको छ। वर्षाका कारण प्रायः जिल्लाका ग्रामीण सडक अवरूद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन चलेका छैनन् ।
वर्षाका कारण उदयपुरको जलजलेदेखि खोटाङको बुईपासम्मको ३३ केभी प्रसारण लाइनमा खराबी आएपछि बेलुकैबाट जिल्लाभर विद्युत् सेवा अवरूद्ध भएको छ। शुक्रबार राति ८ बजे चट्याङ लाग्दा खोटेहाङ गाउँपालिका-६ बस्ने २८ वर्षीय लक्ष्मी खड्का घाइते हुनुभएकाे छ ।
आफ्नै घरमा बसिरहेका बेला परेको चट्याङ लागेर घाइते भएकी खड्काको सिम्पानीस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयाे । २ चैत गते साँझ वर्षासँगै चलेको हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ ।
वर्षासहितको हावाहुरीले जिल्लास्थित विभिन्न ठाउँका दर्जनौँ स्थानीयवासीको घरगोठ तथा केही विद्यालयका छाना उडाएको हो । दश स्थानीय तह रहेको यहाँ बराहपोखरी गाउँपालिका, खोटेहाङ, जन्तेढुंगा, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा पाँचदिनदेखि विद्युत् सेवा आंसिकरूपमा मात्र सञ्चालन भएकोले त्यस क्षेत्रको क्षतिको विवरण अझै आइनपुगेको सरकारी अधिकारीले जनाएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकामा ६० बढी घरपरिवारको घरको छाना उडाएको छ। घरको छाना उडाएर पीडित बनेकालाई नगरले जस्तापाता दिने काम सुरू गरेको नगरप्रमुख विमला राईले जानकारी दिनुभयाे।